प्रधानमन्त्रीसँग भेटेपछि जसपा सरकारमा जाने पक्का, मन्त्री टुंगो लाग्न बाँकी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ।

सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो। राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन्।

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘प्रधानमन्त्रीसँग अहिलेसम्म हाम्रो माग कति सम्बोेधन भए, कहिलेसम्म बाँकी सम्बोधन हुन्छन् भन्ने बिषयमा आज छलफल भएको छ’ उनले भने।

सरकारमा प्रधानमन्त्री ओलीले पहिलेदेखि समावेश हुनका लागि आग्रह गरेको भएपनि अब जाने पक्का भएको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले ८ मन्त्री र २ राज्यमन्त्री लिएर जाने बिषयमा सहमति भएको छ। अध्यक्षज्यूले सार्वजनिक रुपमा टेलिभिजनको अन्तरवार्तामा समेत बताइसक्नुभएको छ।’

सरकार पार्टीबाट को को जाने भन्नेबारेमा टुंगो नलागेको उनी बताउँछन्। ‘सरकारमा जाने भएपछि बैठक बसेर कोको जाने भन्ने टुंगो लगाउँछौँ’ आज भोलि नै सरकारमा जान लाग्नुभएको छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा उनले भने, ‘पार्टीमा छलफल गर्दा दुई चार दिन लाग्नसक्छ।’ अध्यक्ष ठाकुर समूहले संसदीय दलको नेता चयन गरेकोे राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो। स्रोतका अनुसार नेता महतोसहित शरतसिंह भण्डारी, अनिल झालगायतको मन्त्री बन्ने चर्चा छ।

अर्का अध्यक्ष उपेन्द्र यादव समूह छाडेर आएका सबै सांसदलाई मन्त्री बनाउनुपर्ने बिषयमा पनि छलफल भइरहेको बुझिएको छ। संसदीय दलमा बहुमत रहेको अध्यक्ष ठाकुर समूह कार्यकारिणी समितिमा अल्पमतमा छ। ठाकुर पक्षको सरकार प्रवेश नै पार्टी विभाजनको बिन्दु हुने आकलन गर्न थालिएको छ।

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको बहुमतको केन्द्रीय कार्यकारिणी समितीको बैठकले सरकारमा सहभागी भए स्वतः पार्टी सदस्यता समेत नरहने गरी निलम्बन हुने निर्णय यसअघि नै गरिसकेको छ। ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा उभिँदै आएका छन्। प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण सुरु भएको थियो।

तपाईको प्रतिक्रिया