केही खुकुलो पारेर काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्ने गरी निषेधाज्ञा थप गर्ने निर्णय भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गरेको हो ।

यहाँ गएको बैशाख १६ देखि निषेधाज्ञा जारी छ । पछिल्लो पटक आज जेठ ३१ सम्मका लागि निषेधाज्ञा लम्बिएसँगै उपत्यकामा लगातार कम्तीमा डेढ महिना निषेधाज्ञा जारी रहने भएको छ । गएको जेठ १४ मा निषेधाज्ञालाई थप कडा पार्दै खाद्यान्न बिक्री वितरण गर्ने किराना पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गराइएको थियो । अब भने खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइनेछ । किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । अहिले लागू निषेधाज्ञा बिहीबार राती १२ बजे सकिनेछ । त्यसपछि नयाँ नियम लागू हुनेछ ।

विकास निर्माणको काम खुला गरिएको छ। विकास निर्माणका काम मजदूर राखेर दिउँसोमा गर्न पाइनेछ । निर्माण सामग्री ओसारपसारको कामको लागि रातको समय तोकिएको छ । यातायातमा पुरानै नियम कायम रहनेछ । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

तपाईको प्रतिक्रिया