राजनीति

रेशमलालको मुद्दामा ओलीका दुई रूप : उतिबेला ‘जघन्य अपराधी’, अहिले ‘मुद्दा फिर्ता’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको करिब पाँच वर्ष पुरानो एक ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत मंगलबार सरकारले थारू कल्याणकारिणी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति गरेपछि प्रधानमन्त्री ओलीको उक्त ट्वीट भाइरल बनेको हो ।

उतिबेला प्रधानमन्त्री ओलीले रेशमलाल लगायत टीकापुर घटनाका दोषीहरुलाई जघन्य अपराधीको संज्ञा दिँदै कुनै पनि हालतमा मुद्दा फिर्ता नहुने बताउनुभएको थियो । तर अहिले जब सत्ता–संकट चुलियो, उही रेशमको मुद्दा फिर्ता गरेर जसपाको एउटा खेमालाई खुसी पार्न ओली सरकार बाध्य भएको छ ।

सरकार र थरूहट संयुक्त संघर्ष समितिसँग सहमति भएको पहिलो बुँदामा टीकापुर घटनाका अभियुक्त धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पहल गर्ने उल्लेख छ । उक्त सहमतिपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले २०७३ असोज १२ गते गर्नुभएको ट्वीट भाइरल बनेको हो ।

‘कैलाली, टीकापुरको घटनाका दोषीहरुको मुद्दा फिर्ता लिने प्रक्रिया ओली नेतृत्वको सरकारकै पालामा अघि बढिसकेको’ भन्ने तत्कालीन फोरम लोकतान्त्रिकका महासचिव एवं सांसद रामजनम चौधरीको भनाइलाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो- ‘टीकापुर घटनाजस्ता जघन्य अपराधका कुनै पनि मुद्दाहरु मेरो कार्यकालमा फिर्ता लिने निर्णय नभएको प्रष्ट पार्दछु ।’

तपाईको प्रतिक्रिया