पूर्वप्रधानमन्त्री तथा दलका नेतासँग छलफल गर्दै सभामुख

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा संघीय सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन्। सभामुखले प्रतिनिधि सभा विघटनपछि उत्पन्न अवस्थाबारे शुक्रबार (आज) नेताहरुसँग छलफल गर्न लागेका हुन्।

प्रतिनिधि सभा विघटनपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट, छलफल र परामर्श गरिरहेका सभामुख सापकोटाले दलका नेताहरुसँग पनि छलफल गर्न लागेका हुन्। शुक्रबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ।

संघीय संसद्मा अहिले एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो, नेमकिपा र राप्रपाको प्रतिनिधित्व छ। छलफलका लागि बुधबार नै सबैलाई पत्र पठाइएको सभामुखको सचिवालयले बताएको छ।

सभामुख सापकोटाले यसअघि जेठ ११ गते पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए। छलफलमा सहभागीहरुले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेका थिए।

त्यस्तै, उनले जेठ १३ गते संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गरेका थिए। सो छलफलमा कतिपयले सभामुखलाई थप सक्रियता देखाउन भनेका थिए।

त्यसयता पनि सभामुखले अनौपचारिक छलफललाई निरन्तरता दिइरहेका छन्। उनले विषयका जानकार, नागरिक समाजका व्यक्तित्व तथा बौद्धिक व्यक्तित्वहरुलाई भेटिरहेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने कदमलाई सभामुख सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेका छन्।


error: Alert: Content is protected !!