सभामुखलाई मुख्यमन्त्री बनाए सुदूरपश्चिममा एमाले एकढिक्का हुने सम्भावना, आन्तरिक छलफल सुरू

कैलाली । सुदुरपश्चिममा आफ्नो नेतृत्वको सरकार बनाउने गरी एमालेका दुवै समूह छलफलमा जुटेका छन् । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री बनाउन सकिने सम्भावनाका साथ ओली पक्ष र माधव पक्षका सांसदले गृहकार्य थालेका हुन् ।

सुदुरपश्चिम प्रदेशसभाका ५२ जना सांसदमध्ये एमालेका सभामुखसहित २५ जना छन् । सभामुखले राजीनामा दिएर आउँदा एमालेलाई बहुमतका लागि दुई सिट मात्रै अपुग हुन्छ । सभामुख माधव नेपाल पक्षका हुन् ।

सभामुख बाहेकका २४ जनामध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना छन् । अहिले प्रदेशमा माओवादी केन्द्रका १३ , नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

आइतबार प्रदेश एक र बागमतीको एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई एमालेको दुबै पक्ष एकमत भएर पारित गरेका थिए । तर, सुदूरपश्चिम प्रदेशमा आइतबार ओली पक्षका प्रदेशसभा सदस्यहरूले विरोध जनाए । अन्य प्रदेशमा एमालेको दुई पक्षबीच एकता देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा पनि एकताको लागि आन्तरिक छलफल सुरु भएको छ ।

१३ जना प्रदेश सभा सदस्य रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको बेला एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने आन्तरिक तयारी थालेको हो । विगतमा माधव पक्षबाट संसदीय दलका नेता प्रकाश शाह वा पूर्व प्रमुख सचेतक तारा लामा तामाङलाई मुख्यमन्त्री बनाउने बिषयमा छलफल भएको थियो । उता ओली पक्षबाट पूर्वमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको थियो । तर, दुबै पक्षले एकले अर्कालाई स्वीकार नगर्दा अहिलेसम्म एमालेको सरकार बन्न सकेन ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने बिषयमा आन्तरिक छलफल भइरहेको एमाले स्रोतले बतायो ।‘सभामुख थापा नेपाल पक्षका भए पनि ओली पक्षका सांसदहरू उनलाई स्वीकार गर्न तयार देखिएका छन्, यस बिषयमा नेपाल पक्षका केहफ सांसदहरू सकारात्मक देखिएका छन्,’ एमाले स्रोतले भन्यो, ‘सभामुख थापा मुख्यमन्त्री बन्ने अवस्था आयो भने मात्रै सुदूरपश्चिममा एमाले एकढिक्का हुन सक्छ ।’

सभामुख थापाले राजीनामा दिएपछि एमालेका २५ सांसद गणना हुने छन् । जसपाका २ जना सांसदसहित २७ जानको बहुमतले सरकार बन्न सक्ने गरी छलफल भएको छ । जसपा भित्रका २ सांसद राजेन्द्र महतो निकट भएको हुँदा एमालेको गठबन्धनमा उनीहरूलाई पनि ल्याउन सहज हुने एमालेको बुझाइ छ ।

तपाईको प्रतिक्रिया