सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३० अर्ब ३३ करोडको बजेट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले बताए ।

उनका अनुसार भैपरी आउने खर्चका लागि एक अर्ब ७२ करोड ४५ लाख र वित्तीय व्यवस्थामा ३० करोड विनियोजन गरिएको बताए । प्रदेश सरकारले आन्तरिक राजश्व परिचालनतर्फ एक अर्ब २२ करोड, नेपाल सरकारबाट वित्तीय हस्तान्तरणतर्फ सात अर्ब ९९ करोड ९१ लाख, रोयल्टी बाँडफाँडतर्फ तीन करोड ९२ लाख ६३ हजार र समानीकरण अनुदानतर्फ आठ अर्ब ५४ करोड ८० लाख ४० हजार विनियोजन गरेको छ ।

मन्त्री शाहले भौतिक पुर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको बताए । तीन मेगावाट क्षमता भन्दा बढि क्षमताका नौगाड, सुर्नया गाड र अपर सुर्नयागाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन र निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए ।

यसैगरी प्रदेश सरकारले कृषितर्फ यसवर्ष पनि अनुदान दिने कार्यक्रम ल्याएको छ । प्रदेशमा फलफुल खेती विकासका लागि १० करोड रुपैयाँ छुट्याएको मन्त्री शाहले बताए । उनले कृषकसँग कृषि विद्यार्थी कार्यक्रमलाई थप पुरस्कृत गर्दै सञ्चालन गर्न चार करोड बजेट छुट्याएको बताए । प्रदेश सरकारको बजेटले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको दाबी गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाका लागि १९ करोड ७८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। यस्तै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा दुई अर्व ४२ करोड ५८ लाख ९० हजार रुपैया बजेट विनियोजन गरेको मन्त्री शाहले जानकारी दिए । बजेमा खोपको पहुँच पु¥याइने र प्रयोगशालाको स्तरोन्नति गर्ने पनि उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया