बाढी पहिरोपछि अवरुद्ध सडक : कहाँ खुल्यो, कहाँ बन्द ?

काठमाण्डाै – बाढी पहिरोले अवरुद्ध भएका २४ वटा राजमार्गमध्ये तीनवटा दुईतर्फी खुलेका छन् । १४ वटा सडक एकतर्फी खुलाइएको र बाँकी सातवटा अझै अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकको बार्जुगाड बल्दे–अम्कोट र हड्डे खोला, डुम्रे–बेँसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ छहरा तथा पाँचखाल–मेलम्ची सडक अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजारमा सडक अवरुद्ध छ । त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत बाग्लुङको बोक्सेमा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा सडक अवरुद्ध छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको शङ्खमूल, पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ।

यस्तै सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको पिपलडाँडा, कर्णाली राजमार्गमा पर्ने दैलेखको बाङ्गेसिमल कालाखाला सडक खण्ड र कालाखाला सैन सडक खण्ड, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको ढोल्यामोड र तमैल कचाली, सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको कालीमाटी सिसुवा, कालीकोटको बालीघाट धनाडा भिग्म, पाल्पाको तानसेन–रिडी–कोरला, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको ड्याम साइट, राप्ती राजमार्गमा पर्ने सल्यानको कपुरकोट, पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने पर्वतको सहस्रधारा, पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको थुम्सी, झाङको खोड्पे चैनपुर सडक र मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको पानी ट्याङ्कीको सडक एकतर्फी खुलेको छ ।

सडक अवरोध खुलाउन ‘हेभी इक्विपमेन्ट’ तयारी अवस्थामा

सरकारले बाढी पहिरोबाट अवरुद्ध हुनसक्ने सडक र राजमार्ग सकेसम्म चाँडो खुलाउन पहल भइरहेको जनाएको छ । सडक विभागकाअनुसार अवरुद्ध भएको आधा घण्टाभित्र खुलाउने गरी काम भइरहेको छ । सडक विभागले राजमार्ग र सडकको अवरोध हटाउन लोडर, एक्स्काभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखेको जनाएको छ । सम्भावित पहिरो जान सक्ने राजमार्ग र सडकका ८७ ठाउँमा हेभी इक्विपमेन्ट राखिएको विभागले जनाएको छ ।

यस्तै इटहरी, जनकपुर, हेटौँडा, काठमाण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज र गोदावरीको हेभी इक्विपमेन्ट डिभिजनहरूमा तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । तयारी अवस्थामा राखिएका इक्विपमेन्ट अपुग भएमा सम्बन्धित डिभिजनबाट पठाउने गरी तयारी गरिएको पनि विभागको भनाइ छ । बाढीले प्रभावित राजमार्ग र सडक खण्डहरूमा डाइभर्सन निर्माण र भत्किएका पुलमा तत्काल बेलिब्रिज राखेर सडक सञ्चालन गर्ने तयारी भइरहेको पनि सडक विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया