यी हुन्, बलिउडमा भविष्य खोज्दै जाने नेपाली कलाकारहरू

नेपाल र भारतबीच छिमेकी राष्ट्रको सम्बन्ध मात्रै छैन । यी दुई देशको रहनसहन, पहिरन, संस्कृति, धर्म इत्यादि कुराहरू पनि मेल खान्छ । बलिउडको अन्तर्राष्ट्रिय बजारमध्ये नेपाल पनि एक हो ।

नेपाली मनोरञ्जन क्षेत्र भारतमा फैलिन सकेको छैन । तर, भारतको मनोरञ्जन क्षेत्रका दर्शकहरू नेपालमा उल्लेख्य मात्रामा छन् । नेपाली मनोरञ्जन क्षेत्रबाट भारतमा आफ्नो परिचय फराकिलो बनाउने होड पनि पहिलेदेखि आजसम्म निरन्तर छ । नेपाली मूलका धेरै फिल्मकर्मीहरूले बलिउडलाई आफ्नो कर्मथलो बनाएका थिए । तिनमै पर्छन्, हिरासिंह खत्री, बीएस थापा, प्रकाश थापा, मनोहरि सिंहलगायत ।

आफ्नो प्रतिभाले भारत विशेषगरी बलिउडमा नाम कमाउन सफल नेपाली मूलका कलाकारहरूमध्ये केहीको कुरा आज गर्दै छौँ ।

माला सिन्हा (अल्दा सिन्हा)
अभिनेत्री माला सिन्हा (अल्दा सिन्हा)को जन्म सन् १९३६ मा नेपाली क्रिस्चियन परिवारमा भएको थियो । बंगाली चलचित्रबाट अभिनयमा पाइला चालेकी उनले केही हिन्दी फिल्महरूमा अभिनय गरिन् । ततपश्चात् चर्चित नेपाली फिल्म ‘माइतीघर’मा अभिनय गरिन् ।

उनी ‘साहसी महिला’ र ‘महिला सिनेमाका मसालवाहक’का रूपमा पनि परिचित थिइन्, कारण उनले त्यो समयमा महिलाकेन्द्रित र अनकन्भेसनल भूमिका निभाएकी थिइन् । अभिनेत्री माला सन् १९५८–१९६५ की सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि थिइन् । नेपालबाट उनीहरू पश्चिम बंगालमा बसाइँ सरेर गएका थिए ।

वास्तविक नाम अल्दा भए पनि कलकत्ता ९हाल कोलकाता०मा स्कुलमा पढ्दा साथीहरुले डाल्डा ९घिउ० भनेर जिस्काउन थालेपछि उनले बेबी नज्माको नामबाट बालकलाकारका रूपमा काम गरेकी थिइन् । तर, पछि फेरि उनले नाम परिवर्तन गरिन् र माला सिन्हा भइन् । उप्रान्त उनी सोही नामबाट प्रख्यात भइन् ।

ड्यानी डेन्जोङपा
सन् ८० र ९० दशकका बलिउडका खुंखार खलनायकको रूपमा आफ्नो परिचय स्थापित गर्न सफल अभिनेता ड्यानी डेन्जोङपा पनि नेपाली मूलका हुन् । केही नेपाली चलचित्रसहित ‘साइनो’ नामक हिट नेपाली चलचित्रमा उनको अभिनय र गायनको प्रशंसा आज पनि हुन्छ । थुप्रै नेपाली गीतहरूमा आफ्नो स्वरसमेत दिएका ड्यानी नेपाली मूलका हुन् भन्ने धेरैलाई थाहा छ । यद्यपि, उनी सिक्किमका हुन् । भारतीय नागरिक हुन् ।

उनको वास्तविक नाम छिरिङचिन्चो डेन्जोङपा हो । तर, अभिनेत्री जया बच्चनले ड्यानीलाई उनको नाम लामो र उच्चारण गर्न गाह्रो हुने भन्दै ड्यानी राख्न सुझाव दिएकी थिइन् । त्यसपश्चात् उनले ड्यानी डेन्जोङपा राखेका हुन् भनिन्छ । ड्यानी सन् १९४८ मा सिक्किममा जन्मिएका हुन् ।

बाल्यकाल सिक्किममै बिताएका उनी उच्च शिक्षाका लागि दार्जिलिङ गएका थिए । भारतीय सेनामा नाम निकालेका उनलाई आमाले हिरो बने सबैले चिन्छन् भनेपछि उनी भारतीय पुना फिल्म इन्स्टिच्युटमा अभिनयमा डिप्लोमा गर्न गए ।

लबज र आफ्नो स्वरूपका कारण उनले बलिउड प्रवेश गर्न निकै मिहिनेत गर्नुपरेको थियो । उनले सन् १९७२ रिलिज भएको चलचित्र ‘जरुरत’बाट बलिउडमा डेब्यु गरे । सोही वर्ष उनले अभिनेत्री जयाको सहयोगमा अर्को चलचित्र ‘मेरे अपने’मा काम गर्ने मौका पाए । यद्यपि, उनलाई चलचित्र ‘धुन्ध’ले बलिउडमा स्थापित गरायो ।

‘कान्छीलाई घुमाउने काठमाडौं सहर’, ‘हिउँभन्दा चिसो’लगायत गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा ड्यानीले चर्चा कमाएका थिए । यसका साथै उनले बलिउड दिग्गज गायक, गायिका किशोर कुमार, आशा भोसले, लता मंगेशकरसँग पनि गीत गाइसकेका छन् ।

बलिउडका साथै उनले नेपाली, तमिललगायत चलचित्रमा पनि अभिनय गरेका छन् । बलिउडमा चार दशक बिताएका ड्यानीले थुप्रै अवार्ड र पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।

रणजीत गजमेर
रणजीत ९रञ्जीत० गजमेरको नाम नै उनको कार्यको सम्पूर्ण परिचय हो । उनको नामका साथ थप परिचय आवश्यक छैन । नेपाली गीत–संगीतका क्षेत्रमा ख्याति कमाएका रञ्जीत गजमेर जन्मिएका हुन्, दार्जिलिङमा ।

नेपाली मूलका यी संगीतकर्मी दार्जिलिङबाट काठमाडौं आए । त्यसपछि उनी मुम्बई गए । जहाँ उनी बलिउडका प्रख्यात संगीतकार आरडी वर्मनको सम्पर्कमा पुगे । र, वर्मनले कम्पोज गरेका सयौँ गीतहरूमा मादलको ताल पस्किए ।

तर, उता रहँदा पनि गजमेरले नेपाली गीतहरूमा लय भर्न छाडेनन् । आज पनि उनका सयौँ नेपाली गीत नेपाली जनजिब्रोमा झुन्डिएको छ भने उनको मादलले सजिएको कतिपय हिन्दी गीत आज पनि उत्तिकै चर्चित छ ।

उदितनारायण झा
सन् १९७० को दशकमा रेडियो नेपालबाट मैथिली लोकगायनबाट सांगीतिक करियर सुरु गरेका गायक उदितनारायण झा अहिले बलिउडका चर्चित र सफल पाश्र्वगायकमध्ये एक हुन् । नेपाली सांगीतिक जगतमा करिब दशक बिताएपछि उनी शास्त्रीय संगीतको तालिमका लागि मुम्बई पुगे । मुम्बई पुगेपछि बलिउडमा गीत गाउन संघर्षरत रहे ।

उदितनारायणले सन् १९८० मा बलिउडमा पाश्र्वगायकका रूपमा डेब्यु गरेका थिए । चलचित्र ‘उन्नीस बीस’बाट उनले गायकका रूपमा डेब्यु गरेका थिए । जसमा उनले पहिलो कदममै दिग्गज गायक मोहम्मद रफीसँग काम गर्ने मौका पाए ।

तथापि, बलिउडमा उनको यात्रा निकै संघर्षपूर्ण रह्यो । बलिउड गायन क्षेत्रमा प्रवेश गरेको करिब आठ वर्षपछि बल्ल आफूलाई चिनाउन उनी सफल भए । चलचित्र ‘कयामत से कयामत तक’ चलचित्रको गीत ‘पापा कहते है बडा नाम करेगा।।।’ बाट उनले बलिउड पाश्र्वगायकका रुपमा मात्रै आफूलाई चिनाएनन्, पहिलो फिल्मफेयर अवार्ड पनि जिते ।

सन् १९९० सम्म आइपुग्दा उनले थुप्रै हिन्दी, नेपाली भाषामा गीतहरू गाइसकेका थिए । सांगीतिक क्षेत्रमा उदितको योगदानलाई मध्यनजर गर्दै तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई सन् २००१ मा ‘गोरखा दक्षिण बाहु’बाट विभूषित गरेका थिए । यस्तै, भारतीय सांगीतिक क्षेत्रमा पु¥याएको योगदानबापत उनलाई सन् २००९ मा भारत सरकारले पद्मश्री र सन् २०१६ मा पद्मभूषण पुरस्कारबाट सम्मानित गरेको थियो ।

उदितले नेपाली, हिन्दीसहित तेलुगु, कन्नड, तमिल, मलयालम, बंगाली, भोजपुरी र नेपालभाषाका गीतमा पनि आफ्नो स्वर दिएका छन् । नेपालभाषाको गीतमा उदित र दीपानारायण झाको स्वर रहेको छ । उनी नेपाली बुवा हरिकृष्ण झा र भारतीय आमा भुवनेश्वर झाबाट सन् १९५५ मा जन्मिएका हुन् ।

मनीषा कोइराला
नेपालको प्रसिद्ध राजनीतिक नेताको परिवारमा जन्मिएकी अभिनेत्री मनीषा कोइराला बलिउडकी चर्चित र सफल अभिनेत्रीमा पर्छिन् । मोडलिङबाट करियर सुरु गरेकी मनीषाले नेपाली चलचित्र ‘फेरि भेटौँला’बाट चलचित्रमा डेब्यु गरेकी थिइन् । मनीषाले आफ्नो बाल्यकालको आधा समय भारतमा बिताएकी थिइन् ।

मनीषाले बलिउड डेब्यु भने निर्देशक सुभाष घईको चलचित्र ‘सौदागर’बाट गरेकी थिइन् । उनले कैयौँ सफल चलचित्र दिएकी छन् । थुप्रै अवार्ड र सम्मानबाट सम्मानित मनीषालाई सन् २००१ मा नेपाल सरकारले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको थियो । पछिल्लो समय नेपाल र भारतबीचको सीमा विवादमा जन्मभूमि नेपालको विषयमा बोलेपछि अभिनेत्री मनीषा फेरि एकपटक चर्चामा आइन् । त्यसउप्रान्त उनी अधिकांश समय नेपालमै बस्दै आएकी छन् ।

मुरलीधर
मानिसले सोचेको पूरा नहुँदा वा केही दुःख पर्दा धेरै नेपालीले गुनगुनाउने गीत हो, ‘उडायो सपना सबै हुरीले।।।’ । यस गीतका गायक हुन्, संगीतकर्मी÷नाट्यकर्मी र फिल्मकर्मीको परिचय बोकेका मुरलीधर मिझार ।

कलाकार मुरलीधर पनि अरु कलाकारहरूजस्तै आफ्नो भाग्य चम्काउन बलिउड पुगे । सिरहा जिल्लामा जन्मिएका मुरलीले करिब तीन दशकको समय बलिउडमा रही मनोरञ्जनको यात्रा तय गरिसकेका छन् । सांगीतिक माहोलमा जन्मि हुर्किएका मुरलीका बुवा पनि संगीत पढ्न मुम्बई गएका थिए । मुरलीधर सावरीका नामले जन्मथलोमा लोकप्रिय उनी सानैदेखि नाटक गर्थे ।

चौथोपटकमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका उनी शास्त्रीय संगीत सिक्न भारत गए । नेपालमै हुँदा रंगमञ्चमा पनि अभिनय गरेका उनले बम्बई ९हाल मुम्बई०मा संगीतका साथै थिएटर र चलचित्रमा पनि अभिनयको यात्रा अघि बढाए । उनले धारावाहिक टेलिशृंखला ‘महाभारत’मा पनि अभिनय गरेका छन् । मुरलीधरले केही नेपाली चलचित्रहरूमा पनि अभिनय गरेका छन् ।

उगेन छोपेल
नेपाली सुपरहिट चलचित्र ‘साइनो’का निर्देशक उगेन छोपेल नेपाल र भारतको चलचित्र उद्योगमा चर्चित छन् । उनले चलचित्र निर्देशकको डेब्यु नै नेपाल चलचित्र ‘साइनो’बाट गरेका हुन् । उनी बलिउड कलाकार ड्यानी डेन्जोङपाका भान्जा हुन् ।

साइनोका साथै उनले ‘नेपाली बाबु’, ‘तृष्णा’, ‘बादलपारि’लगायत चलचित्रको निर्देशन गरेका छन् । यसका साथै उनले ‘अजनबी’ नामक हिन्दी टेलिशृंखला पनि निर्देशन गरेका छन् ।

भोलाराज सापकोटा
नेपाली रंगमञ्चबाट आफ्नो अभिनय यात्रा सुरु गरेका कलाकार भोलाराज सापकोटाले सन् २०१२ मा रिलिज भएको चर्चित चलचित्रबाट बलिउडमा प्रवेश गरेका हुन् । अभिनेता रणवीर कपुर र इलियाना डिक्रुज र प्रियंका चोपडाको अभिनय रहेको चलचित्र ‘बर्फी’बाट उनले बलिउडमा प्रवेश गरेका हुन् । सो चलचित्रमा उनले रणवीरको बोली बनेर उसको मिल्ने साथीको भूमिका निर्वाह गरेका छन् ।

महिमा चौधरी
बलिउडमा एक समयकी चर्चित अभिनेत्री महिमा चौधरी नेपाली मूलकी छोरी हुन् । दार्जिलिङमा जन्मिएकी अभिनेत्री चौधरीले मोडलिङ, टीभी विज्ञापन हुँदै बलिउडमा पाइला राखेकी हुन् । उनी डेब्यु चलचित्रबाटै चर्चा कमाउन सफल भइन् । उनले सन् १९९७ मा रिलिज भएको चलचित्र ‘परदेश’बाट डेब्यु गरेकी हुन् । त्यो चलचित्रबाट उनले फिल्मफेयर अवार्डमा ‘बेस्ट डेब्यु’ अभिनेत्रीको अवार्ड पाएकी थिइन् ।

महिमा आफूलाई गोर्खाली भन्न रुचाउँछिन् । उनले हालै एउटा नेपाली युट्युब च्यानलमा नेपाली भाषामा अन्तर्वार्ता पनि दिएकी छन् । नेपालको थुप्रै सहर घुमेकी उनी फेरि पनि नेपालमा आउने इच्छा राख्छिन् ।

भारती सिंह
भारतकी चर्चित स्ट्यान्डअप कमेडियन भारती सिंह पनि नेपाली मूलकी छोरी हुन् । कलाकार भारतीकी आमा पन्जाबी हुन् भने बुवा नेपाली । उनको जन्म भने पन्जाबको अमृतसरमा भएको हो । उनी दुई वर्षको हुँदा भारतीका बुवाको निधन भयो, जसका कारण भारती मामाघरमै हुर्किएर उतै ठूली भइन् । सानैमा बुवाको निधन भएर पनि होला, भारतीको आफ्नो बुवाको नेपालमा रहेको परिवारसँग त्यति आउजाउ र सम्बन्ध गाढा हुन सकेन ।

अहमद खान
बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसँग साइनो रहेको छ । उनका बुवा भारतीय मुस्लिम हुन् भने आमा नेपाली मूलकी हुन् । उनले भारतीय च्यानल जी टीभीको डान्स रियालिटी शो डीआईडीमार्फत आफ्नी आमा नेपाली मूलकी भएको बताएका छन् ।

श्रृति झा
भारतीय टेलिभिजनकी चर्चित अनुहार श्रृति झालाई नेपाली मूलकी भनिन्छ । तर, उनी नेपाली भने होइनन् । भारतको बिहारमा जन्मिएकी श्रृतिको बाल्यकाल भने काठमाडौंमा बितेको थियो ।

परिवारसँग लामो समय नेपालमै बिताएका कारण उनी राम्रोसँग नेपाली बोल्न जान्छिन् । उनले काठमाडौको मोर्डन इन्डियन स्कुलमा पढेकी थिइन् । उनी भारतको चर्चित टीभी शृंखला ‘कुमकुम भाग्य’की प्रज्ञा अरोराको पात्रका रूपमा निकै लोकप्रिय छिन् ।

पूर्णिमा श्रेष्ठ (सुष्मा श्रेष्ठ)
भारतकी चर्चित पाश्र्वगायिका पूर्णिमा श्रेष्ठलाई सुष्मा श्रेष्ठको नामले पनि चिनिन्छ । नेवार समुदायमा जन्मिएकी पूर्णिमाको जन्म मुम्बईमा भएको थियो । उनका बुवा भोलानाथ श्रेष्ठ म्युजिक कम्पोजर थिए । काठमाडौंका उनका बुवा पछि कोलकातामा र पछि मुम्बईमा बसाइँ सरेर गएका थिए ।

पूर्णिमाले बालगायिकाको रूपमा गायन करियर सुरु गरेकी थिइन् । उनले सन् १९७१ मा रिलिज भएको चलचित्र ‘अन्दाज’बाट बलिउडमा पाश्र्वगायिकाको रूपमा डेब्यु गरेकी थिइन् । हिन्दी भाषाका साथै उनले तमिल, तेलुगु, पन्जाबी, मराठी, बंगाली र नेपाली भाषामा गीत गाएकी छन् ।

सुनील थापा
नेपाली चलचित्र क्षेत्रमा ‘राते काइँला’को नामले परिचित सुनील थापा बलिउडमा खलनायकका रूपमा पनि चिनिन्छन् । उनले मुम्बईमा मोडलिङ गर्दै अभिनयमा फड्को मारेका थिए । उनको बलिउड प्रवेशको कुरा गर्दा सबैले नाम लिने चलचित्र भनेको ‘मेरी कोम’ हो ।

तर, सुनील त्यसभन्दा धेरै अगाडि नै बलिउडमा प्रवेश गरिसकेका थिए । उनले सन् १९८१ मा प्रदर्शनमा आएको ‘एक दुजे के लिए’बाट चलचित्रमा डेब्यु गरेका थिए । अभिनय राम्रो हुँदाहुँदै पनि विविध कारणले उनी ‘एक दुजे के लिए’बाट स्थापित हुन सकेनन् । उनले थुप्रै हिन्दी र भोजपुरी चलचित्रमा काम गरिसकेका छन् ।

तेरिया मगर
सन् २०१४ मा ‘डान्सिङ लिटर मास्टर’को उपाधि जितेकी तेरिया मगर नेपालको रुपन्देहीमा जन्मिएकी र हुर्किएकी हुन् । यसका साथै उनले ‘झलक दिखला जा’को सिजन ९ पनि जितेकी थिइन् ।

सुशान्त खत्री
नेपाली हिपहप र स्लोमोसन डान्सर, टिकटक स्टार र सोसल मिडिया इन्फ्लुयन्सर सुशान्त खत्री भारतीय डान्सिङ रियालिटी शोबाट चर्चित बनेका हुन् । ‘इन्डियाज डान्सिङ सुपरस्टार’ र ‘डान्स प्लस’मा स्लो मोसन र हिपहप डान्स प्रस्तुतिका कारण सुशान्तले नेपाललगायत भारतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बनेका छन् । उनी इन्डियाज डान्सिङ सुपरस्टारको सन् २०१३ मा प्रसारण भएको सिजन र २०१६ को डान्स प्लसको सिजन–२ मा थर्ड रनरअप भएका थिए । उनले बलिउड डान्सिङ चलचित्र ‘स्ट्रिट डान्सर–३ डी’ मा पनि अभिनय गरेका छन् ।

अदिती बुढाथोकी
नेपाली अभिनेत्रीरमोडल अदिती बुढाथोकीले भारतमा मोडलिङबाट आफ्नो करियर सुरु गरेकी हुन् । भारतका थुप्रै चर्चित युवा गायकहरू, अमाल मलिक, दर्शन रावल, राहुल वैद्य र पन्जाबी गायक मिलिन्डा गाबाका गीतहरूमा अभिनय गरेकी छन् ।

बलिउडको मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकी अदितीले पछिल्लोपटक अमाल मलिकको गीत ‘तु मेरा नही’ र गुरासिश सिंहको गीत ‘तुम जहाँ रहो’ गीतमा अभिनय गरेकी छन् । थुप्रै बलिउड गीतहरुको म्युजिक भिडियोमा फिचर्ड भइसकेकी उनले अनमोल केसीसँग चलचित्र ‘कृ’मार्फत नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् ।

निरीशा बस्नेत
नेपाली अभिनेत्री निरीशा बस्नेत पनि भारतको मोडलिङ र चलचित्र क्षेत्रमा नाम कमाउन संघर्ष गरिरहेकी छन् । नेपाली अभिनेता विश्व बस्नेतकी छोरी निरीशा भारतको ट्यालेन्ट एजेन्सीसँग आबद्ध भएर मोडलिङ पेसामा छिरेकी हुन् ।

उनले मुम्बईमा आफ्नो यात्रा कुलदीप सिंहको अडिसन असिस्टेन्टको रूपमा सुरु गरेकी थिइन् । निरीशा भारतको ठूलो पर्दामा प्रवेश त गरिसकेकी छैनन्, तर टेलिभिजनको पर्दामा भने जमेरै काम गरिरहेकी छन् । उनले टेलिसिरियल ‘चन्द्रनन्दिनी’मा मुख्य पात्र राजकुमारी अलिसेको भूमिका निभाएकी छन् । यसका साथै उनी अर्को टेलिभिजन सिरियल ‘तेनाली रामा’मा पनि महत्वपूर्ण भूमिकामा छिन् ।

सन् २०१७ मा मुम्बई गएकी निरीशा करिब १० महिनापछि पहिलो टेलिभिजन सिरियल प्रसारण भएपछि नेपाल फर्किइन् । नेपाल आएर उनले ‘जानी नजानी’ चलचित्रबाट डेब्यु गरिन् । तर, न चलचित्र सफल हुन सक्यो न त निरीशाकै केही चर्चा चल्यो । उनी पुनः मुम्बई फर्किइन् र अहिले मुम्बईमा नै आफ्नो करियर बनाउन संघर्ष गरिरहेकी छन् ।

उषा पौडेल
सन् १९८३ जुलाई १८ मा जनकपुरमा जन्मिएकी अभिनेत्री उषा पौडेलको वास्तविक नाम रुकमणि पौडेल हो । एसएलसीसम्म पढेकी उषालाई पढाइभन्दा नृत्यमा रुचि थियो । त्यसैले उनले आफ्नो करियर काठमाडौंको एउटा डान्स बारको नर्तक बनेर सुरु गरेकी थिइन् । सोही क्रममा चलचित्र निर्माता रामकृष्ण बजगाईंको नजरमा उषा परिन् ।

‘जंगे’का लागि बजगाईंले उषालाई अफर गरे पनि चलचित्रमा भने खेल्ने मौका पाइनन् । तर, उषाको डेब्यु चलचित्र भने बजगाईंकै अर्को चलचित्र ‘कर्म’ हुन पुग्यो । त्यसपछि दोस्रो चलचित्र ‘मुनामदन’की मुनाले उषालाई नेपाली चलचित्र जगतमा अभिनेत्रीको रूपमा स्थापित गरायो ।

दुई दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी अभिनेत्री उषा पनि अरु कलाकारहरूजस्तै बलिउडमा आफ्नो भाग्य चम्काउने होडमा गइन् । उषालाई बलिउडमा भित्र्याउने श्रेय ९० दशकको सुपरहिट चलचित्र ‘आशिकी’का अभिनेता राहुल रोयलाई जान्छ । २००९ को अन्त्यतिर नेपाल भ्रमणमा आउने क्रममा उषा र उनको भेट भयो । राहुलले आफू ब्रान्ड एम्बेसडर रहेको एउटा कम्पनीको नेपाली ब्रान्ड एम्बेसडरको रुपमा उषालाई मौका दिएका थिए ।

उनलाई नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा चिनाएको चलचित्र ‘मुनामदन’ सन् २००४ को ओस्करमा नेपालको प्रतिनिधित्व गरेर गएको थियो । उषा सन् २०१० मा मुम्बई गइन् र ग्रेस एक्टिङ एकेडेमीबाट अभिनयको कोर्स गरिन् । त्यसपछि उषाको बलिउड चलचित्रमा खेल्ने संघर्ष सुरु भयो । उनले बलिउड चलचित्रमा त मौका पाइनन्, तर राम्रा टेलिशृंखलाहरू भने खेल्ने मौका पाइन् ।

अभिनयको कक्षा सकिनेबित्तिकै उषाले ‘अदालत’ नामक शोमा काम गर्ने मौका पाइन् । त्यस्तै, उनले ‘तुझ सँग प्रीत लगाई सजना’लगायत टेलिशृंखलामा काम गरिन् । करिब पाँच वर्षजति मुम्बईमा बसेर काम गरिन् । त्यसपछि उनी अमेरिका गइन् ।

सृष्टि श्रेष्ठ
अरु नेपाली मूलका कलाकारहरूभन्दा ‘मिस नेपाल वर्ल्ड २०१२’ तथा नेपाली अभिनेत्री सृष्टि श्रेष्ठको बलिउड यात्रा भने केही फरक छ । अरू कलाकारहरू नेपालबाट बलिउड यात्राका लागि लम्किरहँदा सृष्टि श्रेष्ठ भने बलिउडबाट नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् ।

बलिउड गायक अरजीत सिंहको गीत ‘कभी जो बादल बर्से’को कभर गीतबाट सृष्टिले भारतको मनोरञ्जन क्षेत्रमा पाइला टेकेकी थिइन् । सन् २०१५ मा आएको उनको यस गीतको भिडियोले नेपाली मनोरञ्जन क्षेत्रमा निकै हल्ला फैलिएको थियो, कारण सो भिडियोमा सृष्टि निकै बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन् । त्यो समयमा उनी मुम्बईमै बस्थिन् ।

त्यसको अर्को वर्ष नै उनले ‘गाजलु’मार्फत नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन् । उनको दोस्रो चलचित्रको रूपमा थियो, ‘रोमियो एन्ड मुना’ । अभिनेत्री सृष्टिको पछिल्लो चलचित्र थियो, ‘पोई पर्यो काले’ ।

विनोद प्रधान
‘कलंक’, ‘बागी स् रिबेल्स इन लभ’, ‘इश्क वाला लभ’, ‘२ स्टेट्स’, ‘भाग मिल्खा भाग’लगायत कैयौँ सुपरहिट चलचित्रका सिनेमेटोग्राफर विनोद प्रधान पनि नेपाली मूलका हुन् । गोरखाको नेवार परिवारका विनोदको जन्म कालिङपोङ भारतमा भएको थियो । बुवाको फोटो स्टुडियो भएकाले विनोद सानैदेखि क्यामेरामा रुचि राख्थे । सानैदेखि पोट्रेट फोटो खिच्ने उनले १४ वर्षको उमेरदेखि नै बुवालाई स्टुडियोमा सघाउन थाले ।

विनोद फोटोग्राफीमा आफ्नो करियर खोज्न पुणेस्थित एफटीआईआईमा तीन वर्षको सिनेम्याटोग्राफीको तालिमका लागि गए । त्यहाँ उनको निर्देशक प्रेम सागरसँग चिनाजानी भयो र उनको कम्पनी सागर आर्ट्समा असिस्टेन्टको लागि अफर गरे । ‘घासीराम कोटवाल’बाट आफ्नो सिनेम्याटोग्राफीको करियर सुरु गरेका प्रधानले करिब तीन दर्जन बलिउड चलचित्रमा काम गरिसकेका छन् । सिनेमेटोग्राफरको परिचयसँगै उनले आफ्नो नाममा निर्देशक, एसोसिएट निर्देशक र कलाकार पनि जोड्न सफल भएका छन् ।

चलचित्र ‘वेडिङ पुलाव’ विनोदको निर्देशकीय डेब्यु थियो भने प्रियंका चोपडाको निर्माणमा बनेको ‘पाहुना’मा कलाकारको रूपमा खेलेका थिए । विनोदले दुई अन्तर्राष्ट्रिय गरी थुप्रै राष्ट्रिय अवार्डहरू प्राप्त गरेका छन् ।

निरज सिंह
निरज सिंह भारतका लोकप्रिय सुफी गायक कैलाश खेरसँग नजिकिएर काम गरिरहेका नेपाली मूलका अर्का कलाकार हुन् । सिंह कैलाश खेरको स्टुडियोमा साउन्ड इन्जिनियरका रूपमा काम गरिरहेका छन् । निरजका बुवा पनि संगीतकार हुन् ।

बुवाबाटै प्रेरित सिंहलाई बाल्यकालदेखि नै संगीतमा त रुचि थियो नै त्योभन्दा पनि प्राविधिक पाटोमा उत्सुकता राख्थे । उनले कैलाश खेरको ‘चाँद मे’ एल्बमबाट उत्कृष्ट साउन्ड इन्जिनियरको अवार्ड पनि प्राप्त गरेका छन् । – बाह्रखरीबाट ।

तपाईको प्रतिक्रिया