वर्षाका कारण कर्णालीमा चार सय परिवार विस्थापित

सुर्खेत । लगातारको वर्षाका कारण कर्णालीमा ४ सयभन्दा बढी विस्थापित भएका छन् । वर्षाका कारण कालिकोटमा २७ घरका १ सय ३७ जना, जुम्लाका १६ घरका १ सय १७ जना र दैलेखका ३७ घरका १ सय ५० जना विस्थापित भएका हुन् ।

कालिकोटका खाडाँचक्र नगरपालिका, तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकामा २७ घर टहरा भत्किँदा १ सय ३७ विस्थापित भएका छन् ।

कालिकोटका केही स्थानीय तहबाट पहिरोको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए । नरहरिनाथ गाउँपालिका- ९ शितलपानीको दलित बस्ती पहिरोको जोखिममा परेको शाहीले बताए ।

दैलेखको आठवीस- ४, छेपारीका ३७ घरका १ सय ५० जना वर्षापछि आएको बाढीपहिरोका कारण विस्थापित भएका छन् । पहिरो खस्ने जोखिमका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, जुम्लास्थित हिमा गाउँपालिका- ६, खरिढुंगाका १६ घरका १ सय १७ जना विस्थापित भएका छन् । भिरालो जमिनका कारण घर माथि र तलबाट पहिरो जान सक्ने भएकाले उनीहरू विस्थापित भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक युवनकुमार चौधरीले बताए ।

जिल्ला कारागार कालिकोटको पर्खाल भत्किएको छ । निरन्तरको वर्षाका कारण कारागार भवनको पर्खाल शुक्रबार भत्किएको हो ।

कारागारको पर्खाल भत्किएपछि कैदिबन्दीहरू जाखिममा परेका छन् । १५ मिटर जति पर्खाल भत्किसकेको र अर्को तर्फको पर्खाल पनि भत्किन थालेको जेलर नरबहादुर सार्कीले जानकारी दिए । कारागारमा हाल ७४ जना कैदिबन्दी रहेको सार्कीले बताए ।

तपाईको प्रतिक्रिया