निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब ५० करोड

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसँग खर्च माग्ने तयारी गरेको छ। आगामी कार्तिक र मङ्सिरका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब ५० करोड भन्दा बढी रकम माग गर्न लागेको हो ।

आयोगले निर्वाचनमा लाग्ने खर्चको अनुमान गरिसकेको र सरकारसँग माग गर्ने आयोगका एक आयुक्तले जानकारी दिए । उनका अनुसार दुई चरणमा हुने निर्वाचनमा ८ अब ५० करोड रकम खर्च हुने अनुमान आयोगको छ ।

‘निर्वाचनमा ८ अर्ब ५० करोड रकम लाग्ने अनुमान आयोगको छ, अब सरकारलाई जानकारी गराएर रकम माग्छौँ,’ आयोगका एक आयुक्तले भने। आयोगले सो रकम निर्वाचनका लागि लाग्ने लजिस्ट सामग्रीको खरिदमा खर्च गर्ने ती आयुक्तले जानकारी दिए ।

‘कागजदेखि स्टेसनरी सामान किन्न र स्वस्तिक छाप तथा अन्य लजिस्टिक सामग्रीका लागि आयोगलाई प्राप्त रकम खर्च हुन्छ, निर्वाचन अवधिदेखि मत परिणाम नआउँदासम्म आयोगले गर्ने खर्च त्यसमा समावेश गरिन्छ,’ ती आयुक्त भन्छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खर्चको टुङ्गो लगभग लाग्ने क्रममा रहेको र केही दिनमा नै टुङ्गाउने बताए । ‘खर्चको अनुमान लगभग भइसकेको छ, अब केही दिन भित्रैमा टुङ्गिन्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

आयोगले सरकारसँग बजेट माग गरेपछि आवश्यक सामग्री खरिदका लागि टेन्डर गर्ने तयारीसमेत गरिरहेको छ । सरकारले आगामी २६ कात्तिक र ३ मङ्सिरका लागि प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया