ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।

काभ्रेपलान्चोक र सुर्खेतका दुई ज्येष्ठ नागरिकले सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए। काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले रिट दायर गरेका हुन्। उनीहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन नपाएपछि सर्वोच्चलाई गुहारेका थिए।

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन्। पहिलो डोज खोप लगाएको आज १०५ दिन अर्थात् १५ हप्ता पुगिसक्दासमेत नपाएको उनीहरुको रिटमा भनिएको थियो। आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख गरिएको छ।

नेपालको संविधानमा ब्यवस्थित स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गरी पाउनका लागि सार्वजनिक सरोकारको विषय लिई अदालत आएको रिटमा उल्लेख छ।

सरकारले फागुन २३ देखि पहिलो डोज कोभिसिल्ड खोप लगाएका (६५–७५ वर्ष सम्मका ज्येष्ठ नागरिक करिब साँढे १३ लाख) लाई २०७८ साल जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने भनेकोमा उपलव्ध हुन नसकेको रिटमा उल्लेख छ। पहिलो डोज खोप लगाइ दोस्रोको पर्खाइमा रहेका दीर्घरोगी, वृद्ध, अशक्तहरु मर्कामा परेकोले तत्काल खोपको व्यवस्था गराउन माग गरिएको थियो।

सरकार आम नागरिकको जनस्वास्थ्य जस्तो संवेदनशील विषयबाट बेखबर बनिरहेको दाबी रिटमा गरिएको छ सुर्खेतमा स्वास्थ चौकीमा बोलाएर वृद्धलाई खोप नदिई बिना सूचना अन्यत्र नै पठाइएको र केही सुरक्षाकर्मीलाई दिइएको दाबी रिटमा गरिएको थियो।

सर्वोच्चले जेठ ४ गते पहिलो डोज लगाएका व्यक्तिहरुलाई दोस्रो डोज लगाउने व्यवस्था गर्नु भनि जारी भएको आदेशको समेत पालना नभएको रिटमा उल्लेख छ। ‘वृद्ध-वृद्धाहरु कोभिडको जोखिममा धेरै रहेकाले यो आदेशको कार्यान्वयन हामी जस्ता वृद्धको हकमा लागू भएको छैन ’रिटमा भनिएको छ ‘तसर्थ पनि हामी मर्कामा र चिन्तामा छौँ।’

तपाईको प्रतिक्रिया