बजार खुलेसँगै व्यवसायी उत्साहित

लेकवेशी नगरपालिका–९ साटाखानीका चुणामणि ढकाल कृषक हुन् । उनी व्यावसायिक रूपमा भैसी पालन गर्छन् । ढकालका फर्ममा ५० वटा भैसी छन् । दैनिक डेढ सयदेखि दुई सय लिटरसम्म दुध उत्पादन हुन्छ । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै वैशाख १४ गतेदेखि निषेधाज्ञा भयो । सरकारले दुधजन्य व्यवसाय सञ्चालनमा रोक नलगाए पनि सबैजसो क्षेत्र बन्द हुँदा दुधले बजार पाएन । यो अवधिमा उनको फर्ममा उत्पादन हुने झन्डै आधा दुध खेर गयो । ऋण लिएर व्यावसायिक रूपमा भैसी पालन थालेका ढकाल निकै निराश भए ।

केही दिनयता भने उनी उत्साहित छन् । स्थानीय प्रशासनले सुर्खेतमा निषेधाज्ञा खुकुलो गर्दै लगेपछि दुध बिक्री हुन थालेको छ । ‘निषेधाज्ञा भए पनि हामीलाई खासै रोकतोक त थिएन । तर मानिसहरूको चहलपहल नहुँदा बजार पाइएन्,’ उनले भने, ‘उत्पादन भएको दुध खेर गयो । अहिले सबै क्षेत्र खुकुलो बन्दै गएकाले व्यवसाय राम्रो भएको छ ।’ उत्पादनले बजार पाएपछि ढकाल खुसी भएका हुन् ।

वीरेन्द्रनगरस्थित सम्राट पोल्टी फर्मका सञ्चालक सुदीप राइले पनि अहिले व्यवसायमा सहज भएको बताए । उनको फर्ममा अण्डा उत्पादन हुन्छ । पसलहरू सबै बन्द हुँदा उत्पादन खपत गर्न समस्या भएको थियो । निषेधाज्ञा खुकुलो पारिएसँगै व्यवसायले गति लिएको उनी बताउँछन् ।

अघिल्लो वर्षको लकडाउनमा लामो समय थला परेका व्यवसाय बल्ल लयमा फर्किंदै थिए । लकडाउन खुलेसँगै व्यापार–व्यवसाय हुन थालेको थियो । गएको वैशाख दोस्रो सातादेखि कोरोना महामारीले फेरि ठूलो रूप लियो । संक्रमणको दोस्रो लहर आएपछि व्यवसाय पुनः चौपट भयो । झन्डै दुई महिनादेखि निषेधाज्ञा जारी छ । असार १ गतेदेखि प्रशासनले निषेधाज्ञा केही खुकुलो बनाएको छ । अहिले केहीबाहेक अधिकांश व्यापार–व्यवसाय स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न दिइएको छ । बजार खुल्न थालेपछि किसानदेखि व्यापारी सम्म उत्साहित बनेका छन् ।

सुर्खेतमा बिहान ६ बजेदेखि दिउँसो दुई बजेसम्म बजार खोल्ने समय तोकिएको छ । बजारमा किनमेल गर्नेको तहलपहल विस्तारै बढ्दै छ । कोरोना जोखिम कायमै रहिरहेकाले पनि अपेक्षा गरेअनुसार व्यापार नभएको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरू भन्छन्, ‘व्यापार खासै नभए पनि अब विस्तारै बढ्ने आशा छ ।’ कोरोना संक्रमणको जोखिम रहिरहेकाले होटल, पार्टी प्यालेस, शैलुन, ब्यूटीपार्लर र सार्वजनिक यातायात सञ्चालनमा भने अहिले पनि रोक लगाइएको छ । लामो समयदेखि यी व्यवसाय निकै मारमा परेका छन् ।

वीरेन्द्रनगर बजारमा फेन्सी व्यवसायी गर्दै आएकी एकता बस्नेतले डेढ महिना पछि पसल खोलेको बताइन् । ‘फाट्फुट व्यापार हुन्छ,’ उनले भनिन्, ‘अब विस्तारै बढ्ने अपेक्षा छ ।’ त्यस्तै, न्यू बुलबुले अटो सेलका सञ्चालक भद्र भण्डारीले पनि सोचेजस्तो व्यापार नभएको बताए । ‘सबै क्षेत्र सहज बन्दै गए व्यापार बढ्ला,’ अहिले भने सुस्त नै छ ।’ उनले बजार लयमा फर्कन केही समय लाग्ने बताए ।

यतिबेला खेतीबालीको सिजन भएकाले पनि अधिकांश मानिसहरू खेतबारीमै व्यस्त छन् । चाडपर्व आउँदै गरेकाले अब भने व्यापार राम्रो हुँदै जाने व्यवसायीहरू बताउँछन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतका अनुसार अहिले सुर्खेतमा १० देखि १५ प्रतिशत मात्रै व्यापार भएको छ । ‘गाउँबाट समेत मानिसहरू आउन नपाउनु तथा पसल खोल्ने समय पनि निश्चित भएकाले व्यापार राम्रो हुन नसकेको उनले बताए । सार्वजनिक यायातात बन्द छन् । निषेधाज्ञा खुकुलो भए पनि ढुवानीमा समेत समस्या छ । कोरोनाले अर्थतन्त्रमा ठूलो असर गरेकाले चपेटामा परेको व्यवसाय उकास्न समय लाग्ने अध्यक्ष रावतको भनाइ छ ।

साझा बिसौनी दैनिकमा समाचार छ । 

तपाईको प्रतिक्रिया