पार्टीभित्रैबाट सरकारलाई बदनाम गर्ने खेल भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताउनुभएको हो ।

उहाँले बिकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थिरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गर्नुभयो । ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाएपनि अर्को पक्षले त्यसलाई आफू अनुकुल प्रयोग मात्र गरेको तर्क गर्नुभयो ।

एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले बिकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हँुदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राख्नुभयो ।

त्यस्तै, उहाँले मुलुकमा भ्रष्टचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको दाबी गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले देश हाक्न सक्ने अवस्था नदेखिइएपछि बिघटन गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया