वीर भक्ति थापालाई २ सय वर्षपछि ‘न्याय’ को हुन् उनी ?

इटहरी । नेपाल सरकारले बुधबार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्‍यो । नेपाल-अंग्रेज युद्धमा वीरता देखाएका उनलाई राष्ट्रिय विभूतिमा समावेश गर्न केही इतिहासकारहरूले विगतदेखि माग गर्दै आएका थिए ।

कुनै बेला भक्ति थापा प्रतिष्ठान बनाएर विभूति अभियान नै चलाएका इतिहासकार हुन् रमेश ढुंगेल । थापालाई विभूति बनाउन माग गर्दै आयोजित थुप्रै कार्यक्रममा उनले प्रवचन दिएका छन् ।  प्रतिक्रियाका लागि सम्पर्क गर्दा मन्त्रिपरिषद्ले बुधबार गरेको निर्णयबारे उनी अनभिज्ञ रहेछन् । खबर थाहा पाएर उनी सुखद आश्चर्यमा परे । नेपालको विभूतिमा अटाउनैपर्ने तर छुटेका व्यक्ति समेटिएकोमा ढुंगेलले खुशी व्यक्त गरे ।

उनले भने, ‘भक्ति थापालाई विभूति बनाउन प्रतिष्ठान नै खोलेर उपाध्यक्ष भएँ । नेपाल सरकारलाई विभूति बनाउने लिखित प्रस्ताव पनि दिएँ । तर, घोषणा भएको तपाईंबाट मात्रै थाहा भयो । कत्रो बल गर्दा पनि विभूति नबनाइएका भक्ति थापालाई अहिले आएर बनाएकोमा सरकारलाई धन्यवाद छ ।’

नेपाली सेनाको इतिहासका विभिन्न पुस्तकहरू लेखेका र भक्ति थापाको बारेमा अत्यधिक खोज गरेका अवकाशप्राप्त नेपाली सेनाका सहायक रथी हुन् प्रेमसिंह बस्न्यात । सरकारको घोषणाबाट उनी पनि उत्तिकै खुशी छन् । भक्ति थापाजस्तो इमानदार, बहादुर र देशभक्त सैनिक अधिकृत कमै मात्र इतिहासमा भएको बस्न्यात बताउँछन् । ७३ वर्षको उमेरमा युद्धकै दौरान ज्यान आहुति गर्ने एक्ला नेपाली सैनिक अधिकृत भक्ति थापा नै भएको उनको कथन छ ।

भक्ति थापालाई तत्कालीन समयमा दिएको सैन्य पदवीमा खुशी छैनन् बस्न्यात । उनी भन्छन्, ‘त्यत्रो महान कमान्डरलाई सरदार मात्रै पद दिइएको छ । सरदार भनेको अहिलेको समयको कप्तान जस्तो मात्र हो ।’ भक्ति थापाको योगदान अनुसारको ओहदा तत्कालीन समयमा नभएको र विभूति बनाउन पनि कन्जुस्याइँ भएको उनी बताउँछन् ।

थापा भन्छन्, ‘राजा महेन्द्रले इतिहास लेखाउन तयार पारेका सदस्यहरूको पारिवारिक र व्यक्तिगत पूर्वाग्रहका कारणले भक्ति थापालाई छुटाइएको थियो । अब न्याय भएको छ ।’ नेपाली सेनामा हुँदा इमान्दारी र कर्तव्यपरायणता प्रस्तुत गरेको भन्दै थापालाई सुरूमा सुवाङ्गी र पछि सन् १७९४ मा सरदार पद दिइएको उनको बारेमा खोज गरेका प्रेमसिंह बस्न्यात बताउँछन् ।

भक्ति थापाको युद्धस्थलमै पुगेर अवलोकन गर्दै पुस्तक लेखेका बस्न्यात ढिलै भए पनि उनालाई न्याय मिलेको बताउँछन । नेपाली सेनाको इतिहासमा आफ्नो सबैभन्दा ठूलो सम्मान भक्ति थापाप्रति नै रहेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयमा इतिहासको प्राध्यापन गरेर अवकाश पाएका प्राध्यापक डा. सुरेन्द्र केसीको मत भने अलि फरक छ । राज्यले भक्ति थापालाई विभूति घोषणा गर्नु सकारात्मक भए पनि घोषणाकै लागि हुने घोषणाको अर्थ नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘विभूतिहरूको यथोचित मान(सम्मान र इज्जत नभएको देशमा घोषणाले मात्रै म खुशी छैन । देखिने प्रगतिहरू हुनुपर्छ ।’

को हुन् भक्ति थापा ?

तत्कालीन सैन्य कमाण्डर भक्ति थापा नेपाल(अंग्रेज युद्ध लडेका एक महान योद्धा हुन् । हाल लमजुङको मर्स्याङ्दी गाँउपालिका(३ ढंगैबेसीमा पुँवर थापाको कुलमा उनको जन्म भएको थियो । वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रका अनुसार थापाको जन्म वि।सं १७९९ मा भएको हो ।

भक्ति थापा पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार थिए । उनले लमजुङको सेनाबाट धेरैपटक युद्ध लडे । तत्कालीन गोर्खा राज्यसँगको अन्तिम युद्धमा घाइते भएर युद्धवन्दीका रूपमा काठमाडौं ल्याइएको करिब एक वर्षपछि उनी गोर्खा फौजका सरदारको रूपमा नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए ।

नेपाली सेनामा हुँदा इमान्दारी र कर्तव्यपरायणता प्रस्तुत गरेको भन्दै थापालाई सुरूमा सुवाङ्गी र पछि सन् १७९४ मा सरदार पद दिइएको उनको बारेमा खोज गरेका प्रेमसिंह बस्न्यात बताउँछन् । बस्न्यातका अनुसार सन् १७८९ मा गोर्खा ९नेपाल० बिरुद्ध जुम्लाले गरेको विद्रोह दबाएपछि थापाको बढुवा भएको थियो । तत्कालीन समयमा गोर्खाभन्दा बलियो मानिएको जुम्लाले तिब्बतको आडमा विद्रोह गरेको थियो ।

सन् १८१४ को नोभेम्बर १ मा नेपालसँग तत्कालीन दक्षिण एसिया ९हालका भारत, पाकिस्तान, बंगलादेशदेखि म्यानमारसम्म० कब्जा गरेको अंग्रेजले युद्ध घोषणा गर्‍यो । सन् १८१६ को मार्च ४ मा सुगौली सन्धिमा हस्ताक्षर हुनु अगाडिसम्म युद्ध भएको थियो । युद्धकै चरणमा महाकाली पारीको क्षेत्रमा भक्ति थापा खटिएका थिए ।

देउथलको युद्धमा अत्याधुनिक हतियारले सजिएका र गोर्खाली फौजलाई चारैतिर घेरेका अंग्रेजसँग भक्ति थापाले नाङ्गो खुकुरीको भरमा भिडेका थिए । त्यसबेला उनको उमेर ७३ वर्षको थियो । यही युद्धका दौरान छातीमा गोली लागेर उनले ज्यान गुमाए ।

भक्ति थापाको साहसलाई अंग्रेजले पनि कदर गरेका थिए । उनको शवलाई दोसल्ला ओढाएर सैनिक सम्मानका साथ फर्काइएको थियो भने अंग्रेजले उनको सम्मानमा स्मारक पनि बनाए । सो स्मारक हाल भारतको उत्तराखण्ड राज्यमा पर्छ ।

बस्न्यातका अनुसार भक्ति थापा युद्धमा व्यस्त हुँदा र मारिदा उनीभन्दा कम उमेरका अमरसिंह थापा र उनका छोराहरूले मैदानमा साथ दिएनन् । भक्तिको युद्ध र मृत्युको घटनामा उनीहरू दर्शकमात्रै देखिनु अचम्मको रहस्य भएको उनी बताउँछन् ।

नेपाली सेनादेखि विभिन्न क्षेत्रमा १८ पुस्तक लेखिसकेका उनी भन्छन्, ‘नेपाल एकीकरणमा धेरै महत्वपूर्ण योगदान गरे पनि अमरसिंह थापाको नेपाल-अंग्रेज युद्ध मैदानमा भने धेरै योगदान देखिँदैन । भक्ति थापाको मृत्युपछि गौर्खाली योद्धाहरू अमरसिंह थापासँग रिसाएका थिए ।’

भक्ति थापाको सन् १८१५ अप्रिल १६ मा मृत्यु भयो । हाल भारतको हिमाञ्चल प्रदेशको विलाशपुर र राजगण क्षेत्रमा पर्ने मलाउ गढीमा उनको मृत्यु भएको थियो । धेरैले देउथल भन्ने गरे पनि देउथल मलाउबाट धेरै पर भएको बस्न्यात बताउँछन् ।

देउथलको लडाइँ

बस्न्यातले आफ्नो पुस्तकमा देउथल युद्धमा भक्ति थापाले देखाएको वीरताको वर्णन गरेका छन् । उक्त पुस्तकबाट देउथल युद्धसम्वन्धी सानो अंश : मलाउ किल्लाको फेदीमा पर्ने भम्भर किनारमा अक्टरलोनी (ब्रिटिश सेनाका कमाण्डर) को छाउनी रहेको थयो । त्यो सेनाले तारागढी र चम्बीगढी कब्जामा पारिसकेकको थियो । अंग्रेज सेनाको लक्ष्य सूर्यगढी पनि हात पार्ने थियो । त्यहाँ पुग्न तोप लैजाने बाटो तयार भएपछि अंग्रेज सेनाले त्यहाँ घेराउ गर्‍यो ।

सोही किल्लाभित्र कप्तान भक्ति थापा ९०० नेपाली सेनासहित तैनाथ थिए । उनलाई शत्रुले बाहिर निकाल्न जोरजुलुम गर्दा पनि भित्रै अडिइरहे । सूर्यगढी र राजगढको दूरी ५ माइल जति थियो । रेलातर्फ सूर्यगढको घेरा छाडी मेजर हेनेज र कप्तान हेमिल्टन अगाडि बढेका थिए । एकाएक रातमा शत्रु हटेको देखेर भक्ति थापा राजगढको रक्षार्थ बढे ।

देउथलमा रहेका २५ जना गोर्खाली टोलीलाई हटाइसकेपछि टामस पुगे र त्यहाँ दख्खल गरे । टामसका पछि(पछि लाग्दै अक्टरलोनी पनि देउथलतिर लागे । राजगढमा अमरसिंह थापालाई अल्मल्याइराख्न रत्नगढबाट कप्तान हावर्स र काली गाउँबाट बोयर पनि अगाडि बढेका थिए । अक्टरलोनी बिनाबाधा देउथल पुगे ।

देउथलको टिप्पामा नेपाली सेनाको मुटु परेको थियो, किनभने त्यहाँबाट छुटेको तोपको गोला सरासर राजगढमा गिर्दथ्यो । त्यहाँबाट शत्रुलाई हटाउन ज्यादै आवश्यक भएकाले दिनभरिको युद्धपछि रातमा अमरसिंह थापाले सबै अधिकृतहरू जम्मा पारी छलफल गरे । एकछिन पनि ढिलो गर्नु उपयुक्त नहुने देखेर रातमा नै नेपाली सेनाले देउथलमा आक्रमण गर्‍यो । ३०० शत्रु सेना रहेको सो किल्लामा त्यति नै नेपाली सेना पठाइए । नेपाली सेनाको अगुवाइ भक्ति थापाले गरे ।

राजगढबाट तल झरी देउथलमाथि चढ्नुपर्थ्यो । भक्ति थापा ७३ वर्षका भएर पनि त्यो लडाइँमा अगाडि बढेका थिए । त्यही बेला किल्लाबाट शत्रुको गोला बर्सन थाल्यो । नेपालीहरूले हानेका गोली खेर गएनन् । तीनवटा अंग्रेज तोप्चीलाई निशान बनाएपछि अग्रेजहरूले तोप पड्काउन छोडेको बेलामा नेपाली सेनामा किल्लानेर पुगी भिड्ने साहस आयो । केहीले भित्र पसी खुकुरी चलाउन थाले, तर ती सबै मारिए ।

आडैमा पुगी आफ्नो सेनालाई उत्साहित तुल्याउँदै गरेका भक्ति थापालाई अचानक छातीमा गोली लाग्दा उनी जमिनमा ढले । सरदार भक्ति थापा ढलेपछि नेपाली सेनामा नेतृत्वको अभाव रहन गयो । त्यसपछि नेपाली सेनामा भागाभाग मच्चिन गयो । भक्ति थापाको त्यस मृत्युले नेपाली सेनाको अपुरणीय क्षति भयो र अमरसिंह थापा बडो चिन्तित भए ।

सरदार भक्ति थापाले वीरगति प्राप्त गरेपछि नेपाली सेनामा एउटा अभाव खट्किरह्यो । चारैतिर अंग्रेजको विजय भएको हुँदा अमरसिंह थापाले नेपाली सेना मलाउको किल्लामा जम्मा गर्ने आदेश दिए । अंग्रेजहरूले रैलीको टाकुरामा आफ्नो सेना राखी मलाउलाई आफ्नो लक्ष्य बनाए । त्यो बेला सुरजगढ ज्यादै असुरक्षित हुन गयो ।

देउथलको टाकुरीमा पनि अंग्रेज सेना बसेको हुनाले नेपाली सेना र अंग्रेज सेनाको अन्तर करिब १ किमि मात्र रहन गयो । त्यस्तो घडीमा आत्मसमर्पण गर्नु वा युद्धमा मर्नु नै विकल्प थियो । फलतः भक्ति थापाले अर्को बाटो रोजे । अनि उनले वीरगति पाएका थिए । उनको वीरता अतुलनीय थियो ।

नेपाली सेनानायक भक्ति थापाको मृत्युपछि नेपालले यमुना नदिदेखि पश्चिमतर्फको भू(भागबाट पूरै हात धुनुपर्‍यो । करिब ७०० नेपालीको ज्यान गयो । एकजना बाहेक अंग्रेजका सबै तोपचीहरू मारिए । सरदार भक्ति थापाको मृत्युपछि नेपाली सेनाको पराजय मात्र सहनु परेकाले सुरक्षात्मक युद्धमात्र लड्नुपर्‍यो । आक्रामक युद्ध सफल हुन पनि सकेन । -nepalpress.com

तपाईको प्रतिक्रिया