एमाले विवाद : कार्यदलको बैठक आज साढे ११ बजे बस्ने

काठमाडौं । विहीबार साँझ बसेको नेकपा (एमाले)को विवाद समाधान कार्यदलको बैठक स्थगित भएको छ । बैठक आज साढे ११ बजे बस्ने गरी स्थगित भएको हो ।

माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य घनश्याम भुसालका अनुसार कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बिना निष्कर्ष बैठक टुंगिएको हो ।

त्यस्तै, नेता भुसालले विगत दश दिनदेखि कार्यदलले कुनै पनि ठोस प्रगति गर्न नसकेको बताउँदै भने, ‘पछिल्लो १० दिनअघि केही अनौपचारिक छलफलपछि एजेन्डाहरु तयार गरेका थियौं । तर, सामान्य छलफल भयो । कुनै खास ठोस प्रगति गर्न सकेका छैनौं ।’

त्यसोत,  हिजाे दिउँसो बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र हिजै साँझ नै टुङ्गिने विश्वास नेताहरुले गरेका थिए । दिउँसो आन्तरिक छलफल गरेर बैठक साँझ ७ बजे पुनः बस्ने गरी स्थगित भएको थियो ।

तर, साँझको बैठक पनि विना निष्कर्ष टुङ्गिएको हाे । दिउँसोको बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका थिए । कार्यदलमा भीम रावल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र भीम आचार्य रहेका छन् ।

तपाईको प्रतिक्रिया