पाँच दिनमा २ लाख ७७ हजारभन्दा बढीले लगाए भेरोसेलको दोस्रो डोज खोप

काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज शुक्रबारसम्म दुई लाख ७७ हजार १०६ जनाले लगाएका छन्। परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले पाँच दिनको अवधिमा देशभरका तीन हजार ८९७ वटा खोप केन्द्रबाट दुई लाख ७७ हजार १०६ जना व्यक्तिले दोस्रो डोज अर्थात् पूर्ण खोप लगाएको जानकारी दिए।

उनका अनुसार पहिलो दिन असार २२ गते एक लाख तीन हजार ६९४, असार २३ गते ८५ हजार ५१३, असार २४ गते ३४ हजार ८६२ हजार, असार २५ गते ३७ हजार ४२९ र २६ गते १४ हजार १८८ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका छन्।

गत २५ जेठदेखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज खोप दिन सुरु गरिएको थियो।

जेठ २५ गते उपत्यकाका ६० देखि ६५ र उपत्यकाबाहिर ६४ देखि ६५ वर्ष उमेर समूहका चार लाख ६० हजार व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप लगाइएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज भेरोसेल खोप लगाएर समय पुगी दोस्रो डोज लगाउन छुटेका र २५ गते लगाएकासमेत गरी करिब पाँच लाख व्यक्तिलाई भेरोसेलको दोस्रो डोज खोप लगाउने जनाएको छ।

मन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार हालसम्म २६ लाख ११ हजार ८०७ जनाले पहिलो डोज र १० लाख एक हजार ७५९ जनाले दोस्रो डोज अर्थात् कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन्।

तपाईको प्रतिक्रिया