२८ दिनको रोजगारीले दिएको खुसी

रोजगारी सरकारले हैन् गैरसरकारी संस्थाले दियाे

भट्टेघारी (सुर्खेत) । सदरमुकाम वीरेन्द्रनगरदेखी २५ किलोमिटर दुरीमा छ भट्टेघारी गाउँ । बराहताल गाउँपालिका–८ मा पर्ने यो गाउँको व्यथा भने वेग्लै छ । साविकको तरंगा गाउँ विकास समितिको वडा नम्बर ६ सिम्लेपानीमा २०६४ सालमा पहिरोले बस्ती नै बगर बनायो । सिम्लेपानीमो बस्ने आधार नभएपछि एक सय घरधुरीले भट्टेघारी सरिएको हो ।

भट्टेघारी गाउँ ।

थातथलो नै बगरमा परिणतहुँदा नयाँ स्थानमा स्थानीयका लागि शुन्यबाट घरबार शुरु भयो । रातो र चेप्टाइलो माटोका कारण भट्टेगारीमा उब्जनी हुने अन्नबालीले वर्षमा दैनिक तीन महिना गर्जो टर्छ । बाँकी ९ महिना रोजगारीका लागि भारत तथा शहरमा रोजगारी खोज्नु पर्ने बाध्यता भट्टेघारीबासीको छ ।

कोरोना महामारीले रोजगारीमा गएकाहरु धमाधम घर फर्किए । बाहिरै रहेकाहरुले राम्रो काम पाएका छैनन् । कोरोनाले महामारीले नागरिकहरुको जनजीवन प्रभावित बन्दा दैनिक घर खर्च चलाउनै भट्टेघारीबासीलाई हम्मेहम्मे भइरहेको छ । तर कोरोनाबाट प्रत्यक्ष प्रभावित बनेका नागरिकहरुलाई गाउँमै रोजगारी सिर्जना गरेपछि यति बेला भट्टेघारीका स्थानीयलाई राहत भएको छ । काम नपाउँदा बेरोजगार बनेका स्थानीयले गाउँमै सडक खन्ने काम पाएपछि छाक टार्न सहज भएको हो ।

भट्टेघारीका स्थानीयले प्रचण्ड गर्मीमा झण्डै एक हजार पाँच सय मिटर सडक निर्माण गरेका छन् । कोरोना महामारीले रोजगारी गुमाउनुका साथै काम नपाएर दैनिक घर खर्च टार्न सकस भइरहेको बेला गाउँमै काम पाएपछि भट्टेघारीका एक सय बढि नागरिक सडक निर्माणबाट पू्राप्त रकमले सहज भएको स्थानीय मदन भण्डारी बताउँछन् । ‘कमाउन जाउँ कोरोना महामारी छ, बाहिर पनि भनेको काम पाइँदैन,’ भण्डारी भन्छन्, ‘गाउँमै बेरोजगार बनेको बेला कम्तीमा १३ हजार पाएको रकमले दैनिक चुलो बाल्न त सहज भयो ।’

स्थानीयलाई रोजगारी भने सरकारले हैन् गैरसरकारी संस्थाले प्रदान गरेको हो । भकारी कार्यक्रम अन्तरगत युएसएआडीको सहयोगमा सुन्दर नेपाल संस्थाले प्रभावित क्षेत्रका नागरिकहरुको पहिचान गरेर रोजगारी प्रदान गरेको हो । कामका लागि नगद कार्यक्रम अन्तरगत २८ दिन रोजगारी प्रदान गरेर रकम भुक्तानी गरिएको रोजगार संयोजक लक्ष्मीप्रसाद खनाल बताउँछन् ।

स्थानीयले राेजगारीपछि निर्माण गरेकाे झण्डै एक हजार पाँच सय मिटर सडक ।

‘कार्यक्रमको उदेश्य भनेकै तत्कालिन आवश्यकताको पहिचान गरेर स्थानीयलाई काममार्फत रोजगारीमा जोडेका हौं,’ संयोजक खनाल भन्छन्, ‘आगामी दिन यहाँका नागरिकहरुको मागमा आधारमा तरकारी खेती, पशु पालन लगायतका क्षेत्रमा स्वरोजगार बनाउने योजना छ ।’ कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्डको पालना गरेर सडक निर्माण गरिएको पदमा सुनार बताउँछिन् । असारमुखी रोजगारभन्दा बाह्रै महिना सञ्चालन हुने आयोजनामा काम दिन उनको माग छ ।

तपाईको प्रतिक्रिया