सुर्खेत । कर्णाली प्रदेशमा जटिल प्रकृतिका कोरोना संक्रमित बढ्न थालेका छन् । निषेधाज्ञा हटाइसँगै कोरोना संक्रमितको दर निरन्तर उकालो लागेको छ । भने नागरिकले पनि स्वास्थ्य मापदण्ड पालना गर्न छोडेका छन् ।
भोको पेट भर्नकै लागि काम गर्नुपर्ने बाध्यता भएकाले संक्रमित बढेपनि बाध्य भएर स्वास्थय मापदण्ड पालना गर्न नसकिएको वीरेन्द्रनगरका स्थानीय मानबहादुर रावतले बताए । उनी जस्तै हिराकाजी श्रेष्ठको पनि समस्या उस्तै छ । पेशाले व्यवसाय गर्दै आएका उनी घरभेटिलाई पसलको भाडा कसरी तिर्ने ? र घरखर्च चलाउने चिन्ताले बाध्य भएर स्वास्थ्य मापदण्ड पालना नगरी कामगर्नु परेको बताउँछन् । अधिकांश नागरिकका यस्ता साझा समस्या हुन् ।
तर यता कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पछिल्लो एकसाता जटिल प्रकृतिका संक्रमितहरु बढ्न थालेपछि सबैमा त्रास फैलिएको छ । अस्पतालका प्रवक्ता विकास केसीका अनुसार निषेधाज्ञा अवधिमा दैनिक ४÷५ जना जटिल प्रकृतिका बिरामी आउने गरेकोमा निषेधाज्ञा खुकुलो हुदाँ हाल दैनिक १० देखि १२ जनासम्म जटिल प्रकृतिका बिरामी भर्ना हुने गरेका छन् ।
कोरोनाको दोस्रो लहर नसकिदै निषेधाज्ञा खुलेपछि नागरिकले पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न छाडेका हुन् । हवीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा पनि हाल जटिल प्रकृतिका बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी इन्चार्ज डा. अर्चना कार्कीले बताइन् ।
बाह्य जिल्ला र भारतमा रहेका नागरिक समेत धान रोपाइँ लगाएत घरायसी कामका लागि गाउँ फर्कन थालेपछि सहरभन्दा गाउँमा कोरोना जोखिम उच्च छ । संभावित जोखिम न्यूनिकरणका लागि प्रत्येक स्थानीय तहमार्फत गाउँगाउँमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रविन खड्काले बताए । कर्णालीमा अझै जटिल स्थिति आउनसक्ने भन्दै समयमै सबैलाई सजग रहन उनले सुझाब दिएका छन् ।
अन्य प्रदेशको तुलनामा पछिल्लो समय कर्णाली प्रदेशमा कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगेपछि संक्रमितको दर ३० हजार नाघेको छ । भने पछिल्लो तथ्यांक अनुसार ३४३ जनाको मृत्यु भइसकेको छ । कोरोना परिक्षण गरिएका नमूनामध्ये करिब ९० प्रतिशतमा संक्रमण पृष्टि हुदै आएको छ । सबैभन्दा बढी संक्रमित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारत छन् । प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा जटिल प्रकृतिका बिरामी बढेको प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए ।
जटिल प्रकृतिका संक्रमित बढेपछि कर्णाली प्रदेश अस्पतालको कोभिड विशेष अस्पताललाई भेन्टिलेटर जडानसहितको एक सय बेड बनाउन चिकित्सकले आग्रह गरेका छन् । तर जटिल प्रकृतिका बिरामीलाई बचाउन रिफर गर्ने मेकानिजम तयार पार्नुका साथै आवश्यक भौतिक संरचना र दक्ष जनशक्ति व्यवस्थापन गर्न जरुरी छ ।

नेपालीरैबार । २०७८ श्रावण ५, मंगलवार