उपचारमा लापरवाही गरेको आरोपमा मुटुरोग विशेषज्ञ खत्रीलाई कारबाही

काठमाडौं । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै मेडिकल काउन्सिलले मुटुरोग विशेषज्ञ डा। ऋषि खत्रीलाई कारबाही गरेको छ। नेपाल मेडिकल काउन्सिलले दर्ता भएका डा. खत्रीले नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको उपचारमा लापरबाही गरेको भन्दै काउन्सिलमा उजुरी परेको र सोको छानबिन गर्दा लापरबाही भएको देखिए पछि कारबाही गरिएको हो।

क्याप्टेन राणाको २०७७ मंसिर १० गते हृदयघातका कारण मृत्यु भएको थियो। मंसिर ९ गते राति मलेसियाको उडानका लागि तयारी गर्दै गर्दा अचानक असहज महसुस भएपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेको भोलिपल्ट उनको मृत्यु भएको थियो।

अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै क्याप्टेन राणाकी श्रीमती पुष्पा राणाले २०७७ चैत ४ मा काउन्सिलमा उजुरी दिएपछि काउन्सिलले छानविन गरेको थियो। छानबिनमा चिकित्सकले कारबाही गरेको देखिएपछि काउन्सिलले डा. खत्रीलाई एक वर्षसम्म मुटुरोग विज्ञको हैसियतमा काम गर्न नदिने निर्णय गरेको छ।

एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपछि मात्रै मुटुरोगको उपचार गर्न, गराउन अनुमति दिने निर्णय पनि काउन्सिलले गरेको छ। यस्तै काउन्सिलले ४० वर्ष कटेका पाइलटहरुको स्वास्थ्य परीक्षणमा गराउन पर्ने समेत काउन्सिलले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया