कर्णाली करिडाेर फेरि अवरूद्ध, सुचारू गर्न बजेट छैन

कालिकाेट । हस्तान्तरण भएको दुई साता नपुग्दै कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफु–सल्लीसल्ला सडक अवरुद्ध भएको छ । वर्षाले करिडोरका ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्मको १ सय २२ किमि सडक नेपाली सेनाले निर्माण सकेर गत असार ३१ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

ठाउँठाउँमा पहिरो खस्दा र गत वर्षको वर्षामा बाढीले बगाएको फुगाडखोलाको बेलिब्रिज निर्माण नहुँदा सडक अवरुद्ध भएको हो । सडकको पहिरो पन्छाउने काम नेपाली सेनाले गर्ने लिखित सहमति भए बजेट नहुँदा समस्या भएको निर्माण कार्यदल प्रमुख मिलन कार्कीले जानकारी दिए । ‘फुगाडमा खोला बढेकाले साना गाडी तर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अरू ठाउँको पहिरो हटाउन पनि पैसाको सुनिश्चितता नभएकाले काम अघि बढेको छैन ।’

कालीकोटको अँधेरीखोलादेखि भुराबगरसम्म फुकोट जलविद्युत् आयोजनाका कारण पनि पहिरो खसेको सडक निर्माण कार्यदलले जानकारी दिएको छ । वर्षाले करिडोर अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । बिरामीलाई काँधमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता भएको पलाता–१ पुलाहाका खडक भण्डारीले बताए ।

‘वर्षाले सडकको बिजोग छ,’ उनले भने, ‘वर्षा नसकिएसम्म गाडी चढ्न पाइएला जस्तो छैन ।’ घरबाट दुई दिन पैदल हिँडेर सदरमुकाम मान्म पुगेको उनको गुनासो छ । कर्णाली करिडोर अवरुद्ध हुँदा थिर्पुबाट पैदल हिँडेर मान्म आएको पलाता गाउँपालिकाका कर्मचारी बिअराज बमले बताए । कर्णाली करिडोरका रेगिंल, फुगाड, लाफा, बाजुराको रातालगायत ठाउँमा पहिरो खसेको छ भने दर्जनौं ठाउँमा हिलोले गाडी चल्ने अवस्था छैन ।

सरकारले २०७१ चैतमा कर्णाली करिडोरको खुलालु–लैफु सल्लीसल्ला सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । कडा चट्टान भएकाले नेपाली सेनाले सात ठाउँमा सैनिक क्याम्प राखी सात वर्षमा सडक निर्माण सकेको थियो । सबै कागजात सडक विभागलाई बुझाइसकेको प्रमुख सेनानी कार्कीले जानकारी दिए । कालीकोटको फुगाड, हुम्लाको सल्लीसल्लालगायत ५ वटा खोलामा बेलिब्रिज बनाउन विभागसँग स्वीकृति लिने काम भइरहेको छ । छिट्टै टेन्डर निकालेर बेलिब्रिज बनाइने उनले बताए ।

सेनाले जिम्मा लिएको १ सय २२ किमि सडक खन्न १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । खुलालुदेखि हिल्सासम्म २ सय ८१ किमि लम्बाइ रहेको करिडोरको कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको कुवाडी खोलाखेखि सल्लीसल्लासम्म ३९ किलोमिटर सडक पर्छ । अहिले खुलालुसम्म कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक जोडिएको छ । सल्लीसल्लाभन्दा माथि १२ किमि दुलीकुनासम्म सडक विभागले ट्र्याक खोलेको थियो । अहिले करिडोरको केही खण्डमा जिप चले पनि ठूलो पानी परेको बेला समस्या भएको यातायात व्यवसायी अमरबहादुर बुढाले गुनासो गरे ।

तपाईको प्रतिक्रिया