यो सरकार पनि गफाडी हुने चिन्ता भयो : महत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले यो सरकार पनि गफाडी हुने चिन्ता भएको बताएका छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै महतले गरिबलाई निःशुल्क बिजुली उपलब्ध गराउने उर्जा मन्त्री पम्फा भूषालको अभिव्यक्तिप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन्।

‘समाचारमा सुनिन्छ हाम्रो मन्त्रीज्यूले गरिबहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने भन्नुभएछ। झट्ट हेर्दा यो शब्द लोकप्रिय जस्तो लाग्छ। कालान्तरमा यो जिब्रोको पासो हुन्छु महतले भने, ‘भर्खरै हामीले एउटा गफाडी सरकारलाई बिदा गरेका छौं। अब यो सरकार पनि गफाडी हुने हो कि मलाई चिन्ता लागिरहेको छ।’

उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री भुषालले सोमबार गरिबलाई निस्शुल्क बिजुली उपलब्ध गराउने तयारी गरेको बताएकी थिइन्। मन्त्रीहरुको यस्तै अभिव्यक्तिले आफूहरुले सांसदको लोगो लुकाएर हिँड्नुपरेको उनले गुनासो गरे।

‘खनखन पैसा दिउँला हामीलाई बत्ती चाहियो भन्दा त कर्णालीमा बत्ती पुर्‍याउन सकेको छैन भने निःशुल्क बत्तीको कुरा नगर्दा राम्रो हुन्छ’, महतले थपे, ‘किनभने भुतले खाजा खाने बेला हामी माननीय भएछौँ। मन्त्री र सरकारले गर्दा सांसदको लोगो लुकाएर हिँड्नुपरेको छ।

तपाईको प्रतिक्रिया