बहुमतका लागि महन्थभन्दा माधव पक्ष ‘कम्फरटेबल’, सत्ता गठबन्धनले अझै पर्खिने

काठमाडौं । सत्तारुढ गठबन्धनले एमालेको माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन अझै पर्खिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि शुक्रबार र शनिबारसम्म माधव नेपाललाई निर्णय गर्न पर्खिने सहमति भएको हो ।

माओवादी अध्यक्ष प्रचण्डनिकट स्रोतका अनुसार उनले माधव नेपाललाई बिहीबार उनकै निवासमा भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल आफ्नै समूहभित्रबाट पार्टी एकताको लागि दबाबमा परेका बेला प्रचण्डले सकेसम्म शुक्रबारसम्म निर्णय दिन आग्रह गरेका छन् ।

स्रोतले भन्यो, ‘एमाले फुटाएर आउनुस् भन्ने कुरा भएन । तर, उहाँलाई केपी ओलीले एमालेमा बस्न पनि दिँदैनन् भन्ने दुई नेताहरूको बुझाइ छ । तर माधव नेपाल समूहका केही नेताले एकताको दबाब दिइरहेकाले सरकारमा सहभागी हुनेबारे भोलिसम्म केही निर्णय दिनुस् भन्ने कुरा भएको छ ।’

सत्तारुढ गठबन्धनमा माधव नेपाल पक्ष सरकारमा नआए के(कति मन्त्रालय बाँड्ने भन्ने अनौपचारिक छलफल भए पनि टुंगो लागेको छैन । नेपाल पक्ष सरकारमा आए ६ वटा मन्त्रालय दिने समझदारी छ । नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी र जसपाले बराबरी सातरसातवटा मन्त्रालय पाउनेछन् भने कांग्रेस ८ वटा मन्त्रालय पाउने समझदारी बनेको स्रोतले जनाएको छ ।

माधव नेपाल पक्ष एमालेमै मिल्न गएमा सरकारलाई बहुमत कायम राख्न थप सांसद चाहिन्छ । त्यसका लागि महन्थ ठाकुर पक्षका थप सांसदलाई मन्त्री दिएर भए पनि सरकारलाई बहुमतमा लैजानेबारे पनि छलफल चलिरहेको स्रोतले जनाएको छ । अहिले कांग्रेस, माओवादी र जसपाको उपेन्द्र पक्षका सांसद जोड्दा १२९ जना छन् । बहुमतका लागि १३६ चाहिन्छ । राष्ट्रिय जनमोर्चासहित १३० पुगे पनि अझै ६ सांसद आवश्यक हुन्छ ।

जसपाको महन्थ पक्षले विश्वासको मत दिए पनि पार्टी निर्वाचन आयोगले विभाजन गरिसकेको अवस्थामा उनीहरुको समर्थन देउवालाई कुनै पनि बेला टुट्ट सक्छ । त्यसैले पनि माधव नेपाललाई सरकारमा सहभागी गराउँदा सरकार सुरक्षित हुन्छ ।

माधव नेपाल समूहमा सरकारमा जाने र नजानेबारे दुईथरी मत छ । वार्ता टोलीमा रहेकासहित विश्वासको मतको बेला संसद छाडेका ११ जना सांसद सरकारमा जान नहुने र एमाले जोगाउनुपर्ने पक्षमा छन् । तर, विश्वासको मत दिएका २२ जना सांसदले भने माधव नेपाललाई सरकारमा जान दबाब दिइरहेका छन् । बुधवारको भेलामा समेत अधिकांस सांसदले सरकारमा जानुपर्ने र आवश्यक परे अर्को दल बनाएर जानुपर्ने बताएका थिए ।

माधव नेपाल पक्ष सरकारमा नआए पनि अन्य नियुक्तिहरूमा स्थान दिएर सरकारको पक्षमै राख्ने विकल्पमा पनि छलफल भइरहेको छ । नेपालले यो सरकार आफ्नो कारण बनेकाले यसलाई सफल बनाउन आफ्नो साथ रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया