प्रहरी जवानको परीक्षामा दुईजना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । दैलेखकाे भगवतीमाई गाउँपालिका-२ रुम बेस्तडाका २२ वर्षिय रोशन शाही र २३ वर्षिय लोबन शाहीलाइ प्रहरीले पक्राउ गरेका हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्जमा) सञ्चालन भएको अन्तरवार्ता परीक्षामा सहभागी हुन आएका उनीहरुलाई पक्राउ गरिएको हो ।

‘रोशन शाही दर्ता नं. ४९१७१ का उम्मेदवार हुन् । अन्तरवार्ता दिने क्रममा उनले शंकास्पद कुराहरु गरेपछि लेख्न पठाउँदा उनलाई लेख्न आएन।’ घर्तीले भने, ‘त्यसपछि सोधपुछ गर्दा उनले ०७७ फागुन १२ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले सञ्चालन गरेको लिखित परीक्षामा लोबनलाई एक लाख रकम दिएर आफु पास भएको बयान दिए ।’

त्यतिबेला लोबनले नै उनको परीक्षा दिएको डिएसपी घर्तीले जानकारी दिए । उनका अनुसार दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया