तीन एजेण्डामाथि छलफल गर्न एमालेको बैठक, माधव पक्षसँग वारपारको तयारी

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको छन् । असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय भएका उक्त विषयमाथि आज छलफल हुन लागेको हो ।

केन्द्रीय कमिटी बैठकले विभागको पूर्णता दिने र साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठानिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।

यस्तै एमालेले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको थियो । योबीचमा वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिको प्रयास हुँदा उक्त काम प्रभावित भएको थियो । आजको बैठकबाट असार १९ गतेको केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लैजाने तामाङको भनाइ छ ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका थिए । पोखरेलका अनुसार शनिबारको बैठकले नेपाल समूहसँग वारपारको नीति लिने तयारीमा छ । अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,” शनिबार बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्, पोखरेलको भनाइ थियो ।

शनिबारको बैठकमा नेपाल पक्षको सहभागिताका लागि ओली पक्षीय नेताहरुले नेपालसँग भेटवार्ता गरेका थिए । तर, आजको बैठकमा पनि नेपाल पक्ष सहभागी हुने परिस्थिति बनिसकेको छैन । अध्यक्ष ओलीले एकताको प्रयासमा रहेका आफू पक्षीय नेताहरुलाई शनिबारसम्म वारपार गर्ने निर्देशन दिएका थिए । सोही एमाले नेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेलले नेता नेपालसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।

तपाईको प्रतिक्रिया