मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच छलफल

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

शनिबार बिहान देउवासँगको भेटवार्ताका लागि माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच छलफल भएको स्रोतको भनाइ छ।

मन्त्रालय बाँडफाँडका विषयमा सत्ता गठबन्धनका अन्य दलहरुसँग कुराकानी गर्ने सहमति नेताहरुबीच भएको छ। प्रधानमन्त्री बनेको लामो समय वितिसक्दा देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्।

मन्त्रिमण्डलमा देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्।

जनता समाजवादी पार्टीको विवाद टुंगिएकोले चाँडै सरकार विस्तार गर्नुपर्ने दवाव गठबन्धनमा देउवालाई छ। तर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबन्डा मिलाउन देउवालाई सकस परिरहेको छ।

देउवाले आफ्नै पार्टी भित्रबाट पनि कसकसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले ४ जना मन्त्री मागेपछि देउवाले उनीहरुपक्षबाट तीन जना मन्त्री बनाउने तयारी गरेको उनी निकट स्रोत बताउँछ।

तपाईको प्रतिक्रिया