‘लौन हजुर मास्क लगाइदिनुस्, छैन भने लिनुस्’

कोरोना रोकथाममा नागरिक गैरजिम्मेवार

सुर्खेत । व्यस्त वीरेन्द्र चौकमा सोमबार दिउँसो एक्काशी प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति बढ्यो । चौकमा अघिपछिको भन्दा प्रहरीको संख्या बढी देखेपछि सवारी चालक र आवतजावत गर्नेहरु एक्काशी प्रहरी किन आयो भन्ने कौतुहलता छायो । नगर प्रहरीको गाडीमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सन्देश बजिरहेको थियो ।

नगर प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) रामसिंह बोहोरा गुडिरहेका सवारी र पैदल यात्रीहरुमा नजर राख्दै मास्कको प्याकेट खोल्न थाले । उनले त्यहाँ उपस्थित प्रहरी र ट्राफिक प्रहरीलाई खटाएर मास्क नलगानेहरुलाई रोक्दै सम्झाएर मास्क वितरण गर्न लगाए ।

वीरेन्द्रचौक व्यस्त सडक हो । यहीँ सडकबाट आवातजावत गर्ने अधिकाँशले भने मास्कविहिन यात्रा गरिरहेका थिए । प्रहरीले मास्क नलगाएकाहरुलाई पहिलो पटक सम्झाएर आफै मास्क दिएको छ । सई बोहोराले महामारी फैलिरहेको बेला मास्क त लगाइदिनुस् नभए यी लिनुस् भनेर नागरिकहरुलाई आग्रह गरिरहेका थिए ।

नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रहरी र सवारी चाप व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणमा खटिने ट्राफिक प्रहरी यतिबेला कोरोना महामारी नियन्त्रणमा खटिएको छ । आफ्नै स्वास्थ्यको ख्याल नगर्ने हामी नागरिकहरुले कोरोना रोकथाम हैन् बृद्धि गर्नमा गैरजिम्मवारीपना देखाइरहेका छौं । प्रहरीले नै मास्क लगाइदिनुस्, छैन् भने लिनुस् भन्न लगाउनु कदापी सवल पक्ष हैन ।

वीरेन्द्रनगर कोरोनाको रेड जोनमा छ । प्रदेशका अनेत्र जिल्लाहरुभन्दा वीरेन्द्रनगरमा संक्रमण उच्च गतिमा फैलिँदा नागरिकहरुमा कुनै डर र त्रास भने छैन् । हेलचक्राइ गरेर खुलमखुला सडकमा हिडिरहेको र खोप लगाएको छु के नै हुन्छ भन्ने गलत भ्रममा सिर्जना गरिरहेका छन् ।

सुर्खेतमा कोरोना महामारी पुनःबढोत्तरी भएपछि स्थानीय प्रशासनले आइतबारदेखि पसल खोल्ने समय तय गरेको छ । संक्रमणदर एक्काशी बढ्न थालेपछि प्रशासनले प्रहरी परिचालन गरेर नागरिकहरुले मास्क लगाए नलगाएबारे अनुगमन शुरु गरेको छ ।

‘नागरिकहरुले स्वास्थ्य मापदण्डको पालना नगर्दा पहिलो पटक मास्क लगाउन अनुरोध गर्ने र अटेरी गरे संक्रामण रोग ऐन अन्तरगत कारवाही गर्नेगरी सचेतना फैलाइरहेका छौं,’ प्रहरी सहायक निरीक्षक बोहोराले भने, ‘अधिकाँश नागरिकहरु मास्कविनै हिड्दा संक्रमण झन बढ्ने खतरा छ, केही दिन सचेतनालाई उच्च प्राथमिकतामा राखेर बजार क्षेत्रमा खटिरहेका छौं ।’

तपाईको प्रतिक्रिया