मनकला हत्या प्रकरण : एक परिवारका थप चार जना पक्राउ

रुकुम पश्चिम । त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आरोपमा एकै घरका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मृतकका माइला जेठाजु, जेठानी दिदी र उनीहरूका दुई नाबालक छोरालाई प्रहरीले पक्रेको हो ।

सम्वन्धित समाचार
भैँसीलाई घाँस हाल्न गएकी युवतीको गोठमै गरियो हत्या
मनकला हत्या प्रकरणमा भेटियो यस्तो ‘क्लु’
हत्या अभियोगमा १७ वर्षीय भतिज नाता पर्ने पक्राउ


साउन १४ गते मनलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले १५ र ११ वर्षका दुई नाबालकलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । प्रहरीमा परेको किटानी जाहेरीको आधारमा उनीहरुका बाबु र आमालाई पनि पक्रेको प्रहरीले जनाएको छ । मृतक मनकलाकी आमाको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।

पीडितका आफन्तले मनकलाको हत्यामा दुई नाबालकको मात्रै संलग्नता नहुने भन्दै जिल्ला प्रहरी कार्यालय र त्रिवेणी गाउँ कार्यपालिकाको कार्यालय घेराउ गरेपछि प्रहरीले उनीहरुका अभिभावकलाई पनि पक्राउ गरेको हो । ‘पहिला दुई नाबालक र पछि उनीहरुका अभिभावकलाई पक्राउ गरी गम्भीर रूपमा घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘विभिन्न कोणबाट घटनाको अध्ययन भइरहेको छ ।’ उनका अनुसार साउन ११ गते बेलुकी मनकलाको हत्या भएको थियो । सोही राति ९ बजे उनको शव घरदेखि झन्डै एक सय मिटर परको बारीमा भेटिएको थियो ।

घरदेखि टाढाको बारीमा राखिएका भैंसीलाई घाँस हाल्न गएकी मनकला घर नफर्किएपछि उनको खोजी गर्दा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव बीभत्स अवस्थामा भेटिएको थियो । उनको टाउकामा धारिलो हतियार प्रहार गरेका ४ वटा घाउ थिए ।

एउटा कान काटिएको थियो । मृतक महिलाको घाँटी, दुवै कान र नाकमा लगाइएको गरगहना हराएको प्रहरीले जनाएको छ । पछि ती गरगहनासहित दुई नाबालक पक्राउ परेका हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीले कोहलपुरबाट तालिमप्राप्त कुकुरसमेत झिकाएको थियो ।

तपाईको प्रतिक्रिया