भैंसी किन्ने भन्दै बास बसेकाले परिवारलाई नै बनाए बेहाेस, घर लुटपाट

दैलेख । भैंसी किन्ने बहाना बनाएर बास मागेका तीन जनाले परिवार नै बेहाेस् बनाएर फरार भएका छन् । भैरबी गाउँपालिका–१ मा अज्ञात समूहले एक परिवारमा बास मागेर परिवारलाइ बेहाेस् बनाएर लुटपाट समेत गरेकाे हुन् ।

६९ वर्षीय सेते खत्रीको घरमा बिहीबार साँझ तीन जना भैंसी किन्न  आएकाे भन्दै बास मागेका थिए । सेतेले बास दिएपनि तीनै जनाले सेतेकी पत्नी ६९ वर्षीया माग्ली खत्री, छोरी ४८ वर्षीया नानकला खत्रीलाइ बेहाेस् बनाएकाे अवस्थामा विहान फेला परिएकाे थियाे ।

स्थानीयले आज विहान सेते, उनकी श्रीमती माग्ली र छोरी नानकलालाई बेहोस अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । सेतेको परिवारलाई बेहास अवस्थामा फेला पारेकाे खवर स्थानीयले प्रहरीलाई खबर गरेकाे उनकाे भनाइ छ ।

श्रेष्ठका अनुसार बेहोस अवस्थामा भेटिएका तीन जनालाई दैलेख अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ । उनीहरुलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

‘तीन जना अज्ञात व्यक्ति भैंसी किन्ने निहुँमा बिहीबार साँझ सेतेको घरमा बास माग्न आएको भन्ने खुलेको छ, घरको दराज फोडिएको छ, के–कति लुटिएको छ भन्नेबारे यकिन भएको छैन्,’ डिएसपी श्रेष्ठले भने, ‘उपचार गरेर उहाँहरू फर्किएपछि मात्रै के–कति सामग्री लुटिएको छ भन्नेबारे एकिन खुल्नेछ ।’

घटना थाहा पाउने वित्तिकै इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक नेत्र बुढाको नेतृत्वमा प्रहरी टोलीले घटना स्थलमा खटिएकाे थियाे । बुढाकाे टाेलीले अनुसन्धान समेत गरिरहेको छ । सेतेका छिमेकीले सुनलगायतका सामग्रीहरु लुटिएको आशंका गरेका छन् । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया