सुर्खेतमा तत्काल प्रसूति अस्पतालको व्यवस्था गर्न सांसद चपाईंको माग

काठमाडौं– राष्ट्रिय सभाकी सांसद नन्दा चपाईंले सुर्खेतमा प्रसूति गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अकालमा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसूति गृह अस्पतालको निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद चपाईंले निःशुल्क पाइने औषधिहरुको सूची आम जनताले थाहा पाउने गरी सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराइन्।

‘केही औषधिहरु निःशुल्क पाइन्छ भन्ने सुनिन्छ। तर, कहाँ र कसरी पाइन्छ? जनतालाई जानकारी छैन। भएका निःशुल्क पाइने औषधिहरु पनि समय अवधि सकिएर डम्पिङ साइटमा फाल्ने गरेको पाइएको छ’, उनले भनिन्, ‘यसप्रति सरकारको ध्यान जान अति आवश्यक छ। म सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–त्यस्ता निःशुल्क पाइने औषधिहरुको सूचीसहितको नामाकरण जनताले थाहा पाउने गरी जानकारी गराइयोस्।’

सांसद चपाईंले दुर्गम क्षेत्रका जनताका लागि सडकलगायतका भौतिक पूर्वाधार निर्माणको काममा जोड दिन सरकार लाग्नुपर्नेमा पनि जोड दिइन्। उनले सडक लगायतका भौतिक पूर्वाधारको अभावमा दुर्गम क्षेत्रका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्।

तपाईको प्रतिक्रिया