कर्णालीको स्वास्थ्य अवस्था सुधार गर्न हातेमालो गर्नेछौं ः विश्व स्वास्थ्य संगठन

सुर्खेत । कर्णाली प्रदेशका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा पु¥याउन र कमजोर स्वास्थ्य अवस्थालाई सुधार गर्न हातेमालो गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । कर्णालीको स्वास्थ्य अवस्थाबारे जानकार रहेको र यहाँका नागरिकलाई थप सहयोग गर्न आफूहरु तयार रहेको संगठनले जनाएको हो ।


कर्णालीमा कोरोना संक्रमण, खोप, स्वास्थ्य सामग्री लगायतको उपलव्धता र आगामी दिनमा थाल्नु पर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएका विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश शंभाजीराव पाण्डवले कर्णालीमा संगठनकोतर्फबाट थप सहयोग गर्ने बताए ।

नेपाल स्वास्थ्य संगठनले गरिरहेको कामको बारेमा जानकारी दिन सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा डा. पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेको जानकारी दिए ।

‘संघ र प्रदेश सरकारले कर्णालीको स्वास्थ्य अवस्था कस्तो छ, कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन दिँदा हामीलाई काम गर्न सहज हुनेछ,’ डा. पाण्डवले भने, ‘विश्व स्वास्थ्य संगठन हरेक वर्गका नागरिकहरुको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता राख्दछ र कर्णालीका नागरिकहरुलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नमा हामी हातेमालो गर्न तयार छौं ।’

नजिकबाट कर्णालीको अवस्था नियालिरहेको र आउने दिनमा संगठनले थप सहयोगहरु कर्णालीका लागि प्रदान कार्ययोजना बनाउने उल्लेख गरे । कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर हुन जरुरी रहेको उनको भनाई छ । विश्व स्वास्थ्य संगठनले साेमबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाइ १७५ थान अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको थियाे ।

तपाईको प्रतिक्रिया