एमयूमा तनाव, उपकुलपतिकाे गाडीमा बञ्चराे प्रहार

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह चढ्ने गाडीलाई लक्ष्यित गर्दै आन्दोलनकारी विद्यार्थीले बञ्चरो प्रहार गरेका छन् । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा सात विद्यार्थी घाइते भएका छन् ।


विश्वविद्यालयका समस्या समाधानका लागि छलफल भइरहँदा केही व्यक्तिहरुले आफूमाथि भौतिक आक्रमण गरेको उपकुलपति सिंहले बताए । आक्रमणबाट आफ्नो गाडीको सिसा फुटेको उनले जानकारी दिए ।

उनले भने, ‘म मुसुमको कार्यालयमा विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको थिएँ । केही व्यक्तिहरुले ममाथि नै आक्रमण गरे ।’

समयमै प्रहरी आइपुगेका कारण अप्रिय घटना हुन नपाएको सिंहले बताए । आफूलाई प्रहरीले स्कर्टिङ गरेर निवासमा ल्याइदिएको उनको भनाइ छ ।

उपकुलपतिमाथि आक्रमण भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष राज पौडेल, दीपेन्द्रजंग शाही, भूपेन्द्र बम, केशव खड्का, रोशन बस्नेत, गोविन्द सिजापती, तेजबहादुर बमलगायत घाइते भएका छन् ।

नेविसंघ नेता एवम् स्ववियू सभापति झक्कबहादुर शाहीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारेमा बुझ्न खोज्दा एसपी पदमबहादुर विष्टले फोन उठाएनन् ।

विश्वविद्यालयमा सत्तारुढ गठबन्धनका विद्यार्थी संगठन र प्राध्यापक संगठनहरु विगत लामो समयदेखि अनलाइन परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा छन् ।

तपाईको प्रतिक्रिया