घिरौला हराएपछि छिमेकीलाई चोरी र बोक्सीको आरोप लगाएर कुटपिट

सुर्खेत । बारीमा लगाएको घिरौला हराएपछि एक महिलाले आफ्नो छिमेकीलाई कुटपिट गरेकी छन् । वीरेन्द्रनगर–३ अन्नपूर्ण टोल बस्ने डिलादेवि खड्कालाई उनकै छिमेकी बन्दना रावल खड्काले कुटपिट गरेकी हुन् ।

बन्दनाको कुटाइबाट डिला घाइते भएकी छन् । उनको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । ‘बन्दनाले आफ्नो घरबाट केही हराएमा आफैलाई चोरीको आरोप लगाउने गरेकी थिइन्,’ घाइते डिलाले भनिन्, ‘शनिवार साँझ पनि उनको बारीको घिरौला चारी भएछ, त्यो हराएको निहुँमा मलाई बन्दना र उनकी बहिनीले बोक्सी र चोर भन्दै कुटपिट गरिन् ।’

डिलाको आँखामा निलडाम छ भने हातमा दाँतले टोकेपछि घाउँहरु रहेको छ । आफू अन्यायमा परेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएको बताइन् । बन्दनाले भने आफूले शुरुमा नकुटेको दावी गरेकी छन् ।

‘घिरौला हराएपछि छोराछोरीसँग रिसाइरहेको थिए, डिला नै एक्काशी आएर गाली गरेपछि कुटपिट भएको सत्य हो,’ बन्दनाले प्रश्न गरिन, ‘म पनि अन्यायमा परेको छु, मलाइँ कसले दिन्छ न्याय ?’ डिलाले नै निहुँ खोजेपछि आफूले कुटपिट गरेको स्वीकारेकी बन्दनाले बोक्सी र चोरीको आरोप नलगाएको दावी गरिन् ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले पीडितले दिएकाे निवेदनमाथि कारवाही शुरू गर्ने बताए । ‘शनिवार साँझ निवेदन दिएकाे जानकारी पाएकाे छु । यसबारे थप प्रक्रिया शुरू गर्न भनिसकेकाे छु,’ घर्तीले भने ।

तपाईको प्रतिक्रिया