विशेष प्रकाशकिय

‘मोफसलमा अनलाइन पत्रकारिता’

अहिलेको युग सूचना प्रविधिको युग हो । मान्छेको हातहातमा स्क्रीनटच मोबाइल छन् । मोबाइलमै अनलाइन न्यूज पोर्टलका समाचारहरु उपलब्ध छन् । रेडियो, टिभी त्यहीँ मोबाइल सेटमा प्रशारण हुन्छन् । छिनछिनमा पाठकले त्यहीँ प्रविधि प्रयोग गरेर आफूलाई अपडेट बनाइरहेका छन् । प्रिन्ट मिडियाको समाचारभन्दा बढी पहुँच अनलाइन मिडियामा पाठकको छ ।

हाल कर्णाली प्रदेशमा पनि इन्टरनेटमा प्रत्यक्ष पहुँच हुने नागरिकको संख्या बढ्दै छ । त्यसैले नागरिकलाई सही र तथ्यपरक सूचना तथा समाचार पस्किन नेपालीरैबार अनलाइन डिजिटल समाचार पोर्टल सञ्चालनमा गरेको एकवर्ष अघि अर्थात् २०७७ भदौ १ गते आजकै दिन हामी आम पाठककाबिच उपस्थित भएका थियौं । संस्थागत हिसाबले नेपालीरैबार डटकम मिसन कर्णाली मिडिया हाउस प्रालिद्वारा सञ्चालित समाचार पोर्टल हो ।

दुर्भाग्यवस विश्व नै कोरोना भाइरस (कोभिड १९) का कारण आक्रान्त बनिरहेको बेला हामी संञ्चालनमा आउँदा विभिन्न अप्ठ्यारा र चुनौतीका कारण सोचेअनुसारको काम नभएको हाम्रो टिमलाई महशुस भएको छ । तर अनलाइन पत्रकारितामार्फत जन जनलाई जागरुक बनाएर कर्णालीको समृद्धिमा केही इट्टा थप्ने उदेश्यबाट भने हाम्रो टिम विचलित भएको छैन ।

विगत एक वर्षको अवधिमा सही र तथ्यपरक सूचना तथा समाचार पस्किन रैबार टिमले धेरै मेहनत र संघर्ष गरेको छ । कुनै दाता तथा लगानीकर्ताविना आफ्नै मेहनत र संघर्षले दुर्गममा मिडिया हाउस सञ्चालन गर्दा रैबार टिमलाई विभिन्न क्ुरामा अभावको पनि महशुस नभएको होइन । कामका लागि आवश्यक सामाग्रि व्यवस्थापन गर्नु र टिम टिकाइ राख्नु हामीलाई मुख्य चुनौती थियो । आफै लगानीकर्ता र आफै कामदार भएर काम गरिरहेको रैबार टिमले सानातिना दुःख र बजारका आरोपलाई कहिल्यै चुनौति ठानेन ।

भर्खर स्थापना भएर बामे सर्दै गरेको यस मिडियालाई विज्ञापन तथा सूचनाको स्रोत पहिल्याउन र उनै दाताहरुसँग समन्वय गर्न तथा पाठककासामु अरुभन्दा पहिले निरन्तर सत्य तथा पाठककै रुचीका समाचार पस्किनु यो टिमलाई निकै चुनौती थियो । तर रैबार टिममा आवद्ध व्यक्तिहरु सञ्चार प्राविधिकदेखि मार्केटिङ र रिपोटिङमा कर्णालीमै दख्खल राख्ने भएकाले हाम्रासामु ठडिएका चुनौती सामना गर्न त्यति सकस पनि भएन । टिममा आएका समस्या तत्काल छलफलको माध्ययमबाट समाधान गर्नुका साथै कहिल्यै मनमुटाव आउन नदिनु नै हाम्रा लागि सफलताको सुत्र बन्यो ।

केवल कर्णालीमा अरुभन्दा फरक भएर काम गर्न सक्छौं भन्ने आँटकै भरमा सञ्चालन गरिएको यस मिडिया हाउसले एकपछि अर्को सफलता पनि प्राप्त गर्दै गएको छ । शुन्यबाट सुरु भएको यस मिडिया हाउस आज एउटा कोठाभित्र भएपनि व्यवस्थित कार्यालयमा परिणत भएको छ । टिमको व्यक्तिगत रुचीभन्दा कार्यालयको हितका लागि आवश्यक उपकरण जोड्दै काम गरेर अघि बढेका छौं । सञ्चालमा आएको एक वर्षभित्रै यस मिडिया प्रालिले प्रदेश रैबार साप्ताहिक पत्रिका पनि सञ्चालनमा ल्याउन सफल भएको छ । अब यस पत्रिकालाई छिट्टै दैनिक पत्रिकाको रुपमा प्रकाशन गर्ने तयारी गरिहेको पनि आम पाठकहरुलाई जानकारी गराउँछौं ।

कर्णालीमा पटक पटक परिवर्तनका नाममा जे जति आन्दोलन र उपलब्धी भएपनि अझँै कर्णालीका जनताको आर्थिक स्तर माथि उठेको छैन । विकासको गती सुस्त छ । समाजमा चरम भ्रष्टचार छ । कर्णालीका दुर दराजमा लुकाइएका यस्ता सत्य र नदेखाइएका यथार्थभित्रको सूचना र जानकारी यहाँका जनतालाई पस्किन हामी सफल भएका छौं । यो अभियान हाम्रो जारी नै रहनेछ । हामीले सही र समयमै सूचना दिएकै कारण विभिन्न निकायमा पाइने रोजगारी तथा अवसरबाट यहाँका नागरिक लावान्वित पनि भएका छन् ।

त्यसैले हरेक नागरिकलाई सूचना, सन्देश तथा समाचार पस्कदै परिवर्तनका लागि निडर, निर्भिक र निष्पक्ष पत्रकारिताको अभ्यास हामी जारी नै राख्ने छौं । कर्णालीमा अव्बल डिजिटल पत्रिका बन्दै इन्टरनेटको पहुँचमा हुने हरेक नागरिकलाई ताजा र सत्य खबर पस्कने हाम्रो प्रयत्न सँधै जारी रहनेछ । कर्णालीमा पनि संख्यात्मक रुपमा अनलाइन खोल्ने क्रम बढ्दो छ । यसअघि खोलिएका अधिकांश अनलाइन बन्द हुने स्थितीमा पनि पुगेका छन् । तर हामी यी सबै कुरालाई बुझेर सजिलै स्थापित हुनेमा विश्वस्त छौं ।

अहिले पनि प्रिन्टलाइन मिडिया र इलेक्ट्रोनिक मिडियाहरुको अधिकांश समाचारको स्रोत अनलाइन न्यूज पोर्टल नै हुन् । स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा समाजका सबै खाले समाचारले स्थान पाउँदैनन् । त्यस्ता सूचना तथा समाचारलाई नेपाली रैबारले सजिलै प्रकाशन गरेर पाठकको आकर्षण बढाउँदै गएको छ । विगत एक वर्षको अवधिमा हामीलाई माया गर्ने हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता तथा यस क्षेत्रका विज्ञहरुप्रति रैबार टिम नमन गर्दछ । आगामी दिनमा पनि हाम्रा सामाग्री नियमित पढेर आवश्यक सुझाब, सल्लाहसहित सहयोग, समन्वय गर्नुहुनेछ भन्ने अपेक्षासहित प्रथम वार्षिकोत्सवको अवसरमा सबैलाई शुभकामना !

 

तपाईको प्रतिक्रिया