अप्ठ्यारोमा अष्टलक्ष्मी

हेटौंडा । नेकपा एमालेमा आएको विभाजनको बाछिटा धमाधम प्रदेश सरकारहरुमा पनि देखिन थालेको छ । माधवकुमार नेपाल एमालेबाट छुटिंदै नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर गएसँगै प्रदेश सरकारहरुमा यसको असर देखिन थालेको छ ।

राष्ट्रिय राजनीतिमा देखिएको विभाजनको असर बागमती प्रदेश सरकारमा पनि परेको छ । बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् । मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका थिए । मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ दल दर्तामा सनाखत गरेका छन् ।

खनालले एमाले विभाजित भएर नयाँ दल दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर बुधबार केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेका छन् । खनाल र प्रदेश सभाका सदस्य समेत रहेका अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गरेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ ।

प्रदेश सभामा हाल कायम रहेको १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेश सभा सदस्य रहेका थिए । दुई जना खनाल र पाण्डेले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि सनाखत गरेसँगै एमालेको शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने भएको हो । लामो समय माधवकुमार नेपालसँग नजिक रहेर राजनीतिमा सक्रिय शाक्य नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियामा अलग हुँदै अन्ततः केपी ओली नेतृत्वको नेकपा एमालेमै फर्किएकी छिन् । उनले आफू केपी ओली र माधवकुमार नेपालको सल्लाहमै मुख्यमन्त्री बनेको बताएकी थिइन् ।

माधवकुमार नेपालले पनि शाक्य आफ्नो सल्लाहमै मुख्यमन्त्री बनेको स्वीकारेका थिए । तर, सँगसँगै उनले बदलिदो राजनीतिक घटनाक्रमसँगै अब निर्णय गर्ने स्वयम् शाक्य रहेको बताएका थिए । उनले निर्णायक समयमा ओली वा आफू पक्षमा खुल्नु पर्ने संकेत गरेका थिए । तर, पार्टी दर्ता प्रक्रियामा शाक्य ओलीतिरै गएकी छिन् । यसैले पनि मुख्यमन्त्रीमा कायम रहिरहन मुख्यमन्त्री शाक्यलाई अप्ठ्यारो छ । चौथो शक्तिको रुपमा सरकारमा सहभागी हुन लागेको माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा लिने अबको रणनीतिले मुख्यमन्त्रीको यात्रा तय गर्ने निश्चित जस्तो देखिएको छ ।

तपाईको प्रतिक्रिया