कसले लेख्छन् अनि किन लेख्छन् ‘धनी बन्न’ सिकाउने झुटा पुस्तकहरु?

बलराम तिमल्सिना ।  तपाईं सामाजिक सन्जाल फेसबुक चलाउनुहुन्छ भने लामो समयदेखि अनौठो प्रकारका पुस्तकको विज्ञापन देख्नुभएको होला, ‘धनी कसरी बन्ने?’ यी विज्ञापन देखेर कतिपयले किताबै पनि किनेर पढिसक्नुभयो होला। किताब पढेर तपाईं धनी हुनुभयो भन्ने विश्वास लाग्दैन। किताब लेख्ने मानिस कति धनी होलान् भन्ने फरक विषय हो। तिनको वास्तविकता पनि थाहा पाउनुपर्छ।

संसारमा धनी हुन चाहने मान्छे भने धेरै छन्, पुँजीवादी व्यवस्थाले सिकाएकै त्यही हो। त्यसको फाइदा उठाएर यस्ता किताब प्रशस्तै बिक्ने गरेका छन्। लेखकले पैसा पनि राम्रै कमाएका होलान्। अहिले बजारमा करोडपति या अरबपति बनाउन सिकाउने पुस्तक प्रशस्तै देख्न सकिन्छ। फुटपाथमा पनि तिनै पुस्तकलाई सबैभन्दा माथि राखेर बेचेको देखिन्छ। पुस्तक पसलमा त्यस्ता पुस्तक नै बढी बिक्छन्।

पहिलो त, ‘रोडपति’बाट एकैपटक करोडपति बन्न कुनै जादूबाहेक संभव नै छैन। आजको दुनियाँमा सामान्य मान्छेले जति पसिना बगाए पनि भरपेट खान मुस्किल हुन्छ। करोडपतिको सपना देखाउनेले आफ्नै किताबको व्यापार मात्र बढाएका छन्।

जब कुनै व्यापारी, कर्मचारी या राजनीति गर्ने मान्छे रातारात धनी बन्छ, तब बुझ्नु पर्छ कि उसले नीति, नियम र नैतिकता बेचेको छ। हजारौं लाखौंको पसिना खोसेर मात्र त्यसो हुन संभव हुन्छ। उद्योगी वा जमिन्दारले त मजदुर र किसानको पसिनाबाटै कमाउने हो। तर, तिनै मजदुर र किसानलाई ‘चाँडै धनी बन्ने’ सपना बेचिन्छ र बेच्ने पनि धनीवर्ग नै हो।

अपवादस्वरुप एकाध मानिस कुनै कर्मले अलि छिटो धनी बन्लान्। तर, आश्चर्यजनक तरिकाले धनी हुनु कसैलाई उति नै चाँडो गरिब बनाउनु पनि हो। किनकि धन आफैँ बन्दैन, श्रमको आवश्यकता पर्छ। जब टाइसुट लगाएर कुर्सीमा बस्ने, महङ्गा गाडीमा सयर गर्ने, संसारकै महङ्गा मदिरा पिउने, उस्तै महङ्गा मालसमान उपभोग गर्ने प्रकारले कोही रातारात करोडपती बन्छ भने त्यहाँ गडबड हुन्छ।

त्यस्ता व्यक्तिले ठूलै अपराध गरेका हुन्छन्। कर छलेको हुन्छ। मजदुरलाई ठगेको हुन्छ। एक थरीको गणित दुई गुणा दुई १० र अर्का थरीको हिसाब दुई गुणा दुई एक मात्र भएको हुन्छ। पुँजीवादी व्यवस्थाले यो दुवै थरी हिसाबलाई ठीक ठहर्‍याएको छ।

को हुन् यस्ता पुस्तकका लेखक?
नेपालमा पाइने धेरै जसो यस्ता पुस्तक विदेशी लेखकका अनुवाद नै हुन्। कतिपय अनुवाद त अनुमतिविना नै गरिएको हुनसक्छ। तिनले निर्बाध रुपमा पुस्तक बेचिरहेकै छन्। अमेरिकी नागरिक नेपोलियन हिलको पुस्तक ‘थिङ्क एन्ड ग्रो रिच’ को नेपाली अनुवाद ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ को आवरणमा लेखिएको छ, ‘१५ लाख प्रतिभन्दा बढी बिक्री भइसकेको पुस्तक।’ नेपालको सन्दर्भमा यो संख्या धेरै हो। तर, यो पुस्तक विश्वभरिमा बिक्री भएको ठूलो संख्या होइन। धनी बनाउन सिकाउने पुस्तकले आवरणमा नै झुक्याएका छन्।

यो पुस्तक सन् १९३७ मा पहिलो पटक प्रकाशित भएको थियो। यसमा लेखक हिलले करिअर वा पैसाको सन्तुष्टिका लागि विचारको मनोवैज्ञानिक शक्तिबारे परीक्षण गरेका छन्। तर, यो पुस्तक पढेर धनी बन्ने विषय गलत हो। किताबको शीर्षकले पाठक झुक्याउने काम गरेको छ। शिव खेडाको पुस्तक ‘यु क्यान विन’ को नेपाली अनुवाद ‘जित तपाईंको’ पनि बजारमा पाइन्छ। विकिपेडियामा उनको परिचय ‘लेखक, अभियन्ता र मोटिभेसनल स्पिकर’ भनेर दिइएको छ। उनी कोइला खानी सञ्चालन गर्ने व्यापारी परिवारमा जन्मिएका व्यक्ति हुन्।

अर्को पुस्तक ‘द सिक्रेट अफ मिलिनेयर माइन्ड’ लाई यही नाममा नेपाली अनुवाद गरिएको छ। यसका लेखक हुन्, टी हार्व एकर। उनी क्यानडाका व्यापारी हुन्। उनले ‘स्पिड वेल्थ’ नामको अर्को पुस्तक पनि लेखेका छन्। त्यसको उपशीर्षक ‘हाउ टु स्टप अर्निङ अ लिभिङ एन्ड स्टार्ट क्रिएटिङ वेल्थ’ राखिएको छ। त्यस्तै एन्थोनी रोबिन्सको ‘अनलिमिटेड पावर’ लाई ‘असिमित शक्ति’ भनेर अनुवाद गरिएको छ। यसको उपशीर्षक ‘आत्मोन्नतिको नयाँ विज्ञान’ लेखिएको छ। यस्ता धेरै पुस्तक बजारमा पाइन्छन्।

अझ नेपालीले नै लेखेको पुस्तक त झनै झुक्याउने प्रकारको छ। दिलीपकुमार श्रेष्ठको पुस्तकको नाम हो, ‘मनी मन्त्री’ र उपशीर्षक राखिएको छ ‘पैसा कसरी कमाउने?’ मानौँ पुस्तक पढेपछि पैसा कमाउन अति सजिलो हुन्छ।

किन लेखिन्छन् यस्ता पुस्तक?
आज संसारभरि धनीहरूको शासन छ। धनीहरूको शान छ। धन हुनु र नहुनुले धेरै कुराको निर्धारण गर्दछ। तपाईंसँग प्रसस्त धन छ भने तपाईलाई संसारका सबै ‘सुख–सुविधा’ र ‘शान’को ढोका खुल्ला हुनेछन्। तपाईंको जिन्दगीको परिभाषा बदलिन्छ।

तपाईंसँग धन छैन भने पखाला लाग्दा जीवनजलको एउटा पुरिया किन्न नसकेर मर्नु पर्ने हुनसक्छ। अस्पतालका ढोका बन्द हुन्छन्। शिक्षामा विभेद हुन्छ, जसले तपाईंलाई ज्ञानको ताला लगाउने प्रयास गर्छ। धन छ, साथीभाइको लर्को उसैको हुन्छ। पुलिस, कर्मचारी, नेता, व्यापारी, बैङ्कर्स सबै तपाईंका दाहिना हुन्छन्। न्याय, नैतिकता, अवसर सबै तपाईंको गोजीमा आएर बस्छन्।

त्यही कारण, धन नहुँदा अभाव र अपमान भोग्न बाध्य मानिसहरु धनी बन्ने दिशाहीन दौडाइमा लाग्छन्। तिनै गरिब मानिसहरुलाई ‘उल्लु’ बनाउन धनी कसरी बन्ने पुस्तकहरु लेखिन्छन्। त्यस्ता पुस्तकमा जसरी धनी बन्ने सूत्रहरू दिइएको हुन्छ, ती पढेर कोही करोडपति या अरबपति बन्दैन। ती सूत्र बढीमा त्यस्ता मानिसलाई काम लाग्नसक्छ, जो सुरुबाटै धेरथोर धनी छन्। जोसँग सुरुबाटै धेरथोर ठगविद्या छ। जोसँग मानिसहरूलाई ठग्ने कला छ। जसको सत्तासँग पहुँच छ। र, जसलाई सामाजिक, आर्थिक, साँस्कृतिक हिसाबले अतिरिक्त सुविधा प्राप्त छन्।

तर, जो गरिब छ, जोसँग लगानी गर्ने होइन कि भरे के खाने भन्ने चिन्ता छ, चप्पल फाटेपछि नयाँ किन्ने पैसा छैन, बस्ने बास छैन, मर्दा गाड्ने चिहान छैन, तिनीहरूलाई करोडपती बन्न सिकाउने पुस्तक लेखिनु वा प्रचार हुनु ठगी हो। ठग्नकै लागि यस्ता पुस्तक लेखिन्छन्।

लेखिँदैन ठगीको वास्तविता
प्रकृति सबैको साझा सम्पत्ति हो। प्रकृतिको उपयोग सबैले समान रुपमा गर्न पाउनुपर्ने हो। कोही धनी र कोही गरिब नहुनु पर्ने हो। तर, प्रकृतिप्रदत्त तिनै वस्तु केही मानिसले निजी बनाए। एक थरीसँग उब्जाऊका लागि मनग्गे जमिन भयो। उत्पादनका साधन उनीहरुसँगै भए।

तर, अर्का थरीसँग कि थोरै जमिन छ, कि छँदै छैन। जमिनमा पसिना बगाएर अन्न उत्पादन गर्नेहरू सबैभन्दा धनी हुनु पर्ने हो। कारखानामा काम गर्ने मजदुर सबैभन्दा सम्पन्न हुनु पर्ने हो। स्थिति ठीक उल्टो छ। उत्पादनका सामग्री र उत्पादित वस्तुमाथिको कब्जा काम नगर्ने वर्गमा हुँदा किसान र मजदुर नै सबैभन्दा गरिब छन्।

जसले छिटो–छिटो र धेरैभन्दा धेरैलाई कुसलतापूर्वक ठग्न सक्छ, ऊ रातारात धनी बन्छ। अनि तिनीहरु नै धनी बन्न सिकाउँदै पुस्तक लेख्छन्। ती पुस्तकमा ठगेर धनी भएको स्वीकारोक्ति हुँदैन।

श्रमका हिसाबले सबैभन्दा कठिन शारीरिक काम गर्ने कार्यलयको पियनको तलब सबैभन्दा बढी र कुर्सीमा बसेर सही मात्र गर्ने हाकिमको तलब सबैभन्दा कम हुनुपर्ने हो। तर, उल्टो छ। अनि, उल्टो व्यवस्थामा नै बानी परेकाहरु यसैलाई ठीक मान्छन्। वास्तवमा ‘पियन’ भन्ने पद नै अनावश्यक हो। ‘हाकिम’ले पनि सरसफाइ र अन्य आफूसँग सम्बन्धित शारीरिक काम गर्न सक्छ।

पुँजीवादी व्यवस्थामा किसानलाई गरिब बनाएर जमिन्दार धनी बन्छन्। मजदुरहरूलाई गरिब बनाएर कारखानाका मालिक धनी बन्छन्। नागरिकहरूलाई गरिब बनाएर शासकहरू धनी बन्दछन्। उपभोक्ताहरूलाई ठगेर व्यापारीहरू धनी बन्छन्। जसले छिटो–छिटो र धेरैभन्दा धेरैलाई कुसलतापूर्वक ठग्न सक्छ, ऊ रातारात धनी बन्छ। अनि तिनीहरु नै धनी बन्न सिकाउँदै पुस्तक लेख्छन्।

तर, ती पुस्तकमा माथि चर्चा गरिए झैँ धनी बनिने उपायका कुरा हुँदैनन्। ठगेर धनी भएको स्वीकारोक्ति हुँदैन। त्यहाँ सही व्यवसायको छनौट, कुशल प्रबन्ध, प्रभावकारी विज्ञापन अनि दृढ इच्छाशक्ति जस्ता विषयको चर्चा हुन्छ। यी विषय कुनै व्यवसायमा सफलता पाउन महत्वपूर्ण होलान्, तर मुख्य होइनन्। र, यति भएपछि सफल भइहालिने तथा धन कमाइहालिने पनि होइन। धनी बन्ने मुख्य कुरा त ठगी, ठगी र फेरि पनि ठगी नै हो। अबका पुस्तकमा चाहिँ करोडपति बन्ने ‘फन्टुस गफ’ नलेखेर रातारात करोडपति बन्नेहरूका कर्तुत लेखिनुपर्छ। ती किताब मात्र देश र जनताका लागि उपयुक्त हुनसक्छन्।

error: Alert: Content is protected !!