सभामुखलाई युद्वकालीन मुद्दाकाे तरवारले छाडेन, सर्वोच्चमा पेशी तोकियो

सुर्खेत । १० वर्षे जनयुद्ध शान्ति प्रकृयामा टुंगिएको १० वर्ष वित्दा पनि सभामुख अग्नी सापकोटालाई भने जनयुद्वकालीन मुद्दाले अझै छाडेको छैन । यसअघि मन्त्रीहुँदा पनि यही मुद्धाको सामना गरेका सभामुख सापकोटाले अहिले सभामुख भएपछि पनि सोही मुद्दाकाे सामना गरिरहेका छन् ।

अहिले काभ्रेका अर्जुन लामाको जनयुद्व कालमा भएको हत्याको मुद्दामा विपक्षी बनाईएको सापकोटा बिरुद्धको मुद्दामा पुनः सर्वोच्चमा पेशी तोकिएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको साप्ताहिक पेसी सूचीमा सापकोटा विरुद्धको मुद्दालाई पहिलो नम्बरमा राखेको छ । करिब १० वर्षदेखि अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।

अर्जुन लामाकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटा विरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिईन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ ।

२०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरेर हत्या गरेको परिवारको दाबी छ । लामाको हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो ।

सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषदले तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसपछि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसीर २०६९ मा अर्को आदेश जारी गरेको थियो । सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत २०७६ असार २५ गते आदेश जारी गरेको थियो । आज पनि पेशी स्थगित हुने वा फैसला हुने त्यो भने निश्चित छैन ।

तपाईको प्रतिक्रिया