सुर्खेतमा खड्का पक्ष र थानी पक्षलाई चुनौती दिदै लोकेन्द्रद्धारा उम्मेदवारी घोषणा

सुर्खेत । सुर्खेत काँग्रेस यतिबेला १४ औं महाधिवेशनको चटारोमा छ । देशैभर युवा पुस्ता हावी हुन खोजिरहेको समयमा कर्णालीका अधिवेशन सम्पन्न भएका जिल्लाहरुमा युवाहरुको वडा सभापतिमा देखिएको उपस्थितिले युवा वर्गको राजनीति प्रतिको चाहनालाई प्रतिविम्वित गरिरहेको छ ।

केन्द्रमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबीच कडा प्रतिस्पर्धा चलिरहेको समयमा त्यसैको वाछिटा सुर्खेतमा पनि परेको छ । कर्णालीका आठ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि सुर्खेतमा हालसम्म सुरु भइसकेको छैन ।

सुर्खेतमा संस्थापन पक्ष र पौडेल पक्षका तर्फबाट उम्मेदवारी घोषणा गर्ने, प्रचार प्रसार गर्ने कार्य तीव्र रुपमा छ तर यी दुवै पक्ष भन्दा पनि युवाहरुको प्रतिनिधित्व गर्दै नेपाल तरुण दल बराहताल गाउँपालिका अध्यक्ष लोकेन्द्र रोकायाले बराहताल नौ को वडा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

‘पार्टीमा दुइ लाईन देखिएको छ तर म ती दुवै लाईन भन्दा पनि नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिने गरी लागेको छु ।’ लोकेन्द्रले भने, ‘गुट उपगुट भन्दा पनि विपिको आदर्श अनुसार अघि बढन र वडाको समग्र विकासकालागि युवा परिचालनलाई आधार मानेर मैले उम्मेदवारी घोषणा गरेको हो ।’

उनले राजनीतिमा अब युवा पुस्ता आउनुपर्ने र त्यसको जोखिम उठाउन युवाहरु तयार हुनुपर्ने धारणा राख्छन् । ‘युवाको नेतृत्वविना पार्टी गतिशिल बन्न सक्दैन्,’ रोकायले भने, ‘पार्टीप्रति युवाहरुको आकर्षण बढाउन र पार्टीको दीर्घकालिन हित हुने कामका लागि सक्रिय बन्न वडा सभापति पदका लागि चुनावी मैदानमा उत्रिएको छु । मलाई मेरो वडाका मतदाताले न्याय दिनेछन र युवाहरुको साथ र सहयोगले वडा सभापतिमा विजय प्राप्त गर्ने अपेक्षामा म छु ।’ नेपाली काँग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि समेत भएका रोकाय बराहताल गाउँपालिकाका तरुण दल अध्यक्ष पनि हुन् । हाल उनी वडा नम्बर ९ को पार्टी सचिव र तरुण दलका क्षेत्रीय उपाध्यक्ष छन् ।

तपाईको प्रतिक्रिया