राजनीतिक पूर्वाग्रह राखेर बालुवाटार जग्गामा फसाइयो : गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन्। बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा मलाई फसाइयो। पूर्वाग्राही राखेर मलाई फसाउन खोजियो।’

लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले न्यायालयबाट आफूमाथि पूर्ण विश्वास रहेको बताए। लामो षड्यन्त्र गरेर आफ्नो भविष्य, राजनीतिक जीवनलाई ध्वस्त बनाउने प्रयास भएको बताए।

गच्छदारले भने, ‘सरकारको उपप्रधानमन्त्रीको जिम्मेवारी पाउँदासमेत सरकारको कुनै खर्च गरिन्। मैले मेरो पदीय जिम्मेवारी सम्हाले। मैले कहिल्यै मेरो व्यक्तिगत स्वार्थको लागि काम गरिन्। मलाई किन निराधार आरोप लगाइयो भन्ने प्रश्न उठेको छ।’

संविधान निर्माणमा पनि आफूले महत्वपूर्ण भूमिका खेलेको बताए। संविधान निर्माणको बेलामा आफूले सहजीकरण गरेकै कारणले दलहरूमा सहमति बनेको दाबी गरे। लोकतन्त्रप्रति आफूलाई अपार विश्वास रहेको बताउँदै कम्युनिष्टको दुईतिहाइ सरकारले काम गर्न नसकेको आरोप लगाए।

‘मेरो राजनीतिक भविष्य अन्त्य गर्न रचित षडयन्त्रको आधारमा अख्तियारले ममाथि मुद्दा दायर गरेको हो। कम्युनिष्ट सरकारको अधिनायकवादबाट नै यस्तो षड्यन्त्र भएको छ। त्यसैले सचेत नागरिकहरुले त्यसप्रति सचेत हुनुपर्छ’ उनले भने।

तपाईको प्रतिक्रिया