मुम्बई इन्डियन्सको लगातार दोस्रो हार

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ। यो उसको लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग पराजित भएको थियो। आबुधाबीमा गएराति भएको खेलमा कोलकात्ताले साविक विजेता मुम्बईलाई ७ विकेटले हराएको हो। मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।​

कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे।​ भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शर्माले ३३ रन जोड्दा केइरन पोलार्डले २१ रन जोडे। इशान किशनले १४ रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए।

कोलकात्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २र२ विकेट लिए। यस जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ। छैटौं स्थानको मुम्बईको ८ अंक नै रहेको छ।

तपाईको प्रतिक्रिया