‘क्राइम पेट्रोल’ मार्फत सानो पर्दामा फर्किँदै दीपक

काठमाडौं । चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् । कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् ।

दीपकको कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । गिरी यसमा होष्टको रुपमा देखिनेछन् ।

‘क्राइम पेट्रोल नेपाल’ मा मेरो जिम्मेवारी होष्टको मात्र हो’ गिरीले भने, ‘कलाकारको रुपमा भने म देखिनेछैन ।’ गिरी ‘क्राइम पेट्रोल नेपाल’ मा ‘ग्यालेक्सी फोरके’ टेलिभिजनको उद्घाटन समयदेखि जोडिएका हुन् । उक्त समय गिरीले केही फरक काम गरौँ भन्ने उद्देश्यले होस्टको जिम्मेवारी निर्वाह गर्न लागेको बताएका थिए ।

‘क्राइम पेट्रोल नेपाल ’होष्टसहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ । जसको संयोजकमा सम्पदा मल्ल रहेकी छन् भने श्रृंखलाको निर्देशनमा विशाल भण्डारी, अस्कर कलेजका विद्यार्थीहरु लगायत रहेका छन् । श्रृंखलाकाअनुसार निर्देशक परिवर्तन देख्न सकिनेछ ।

तपाईको प्रतिक्रिया