दशैँमा जमरा राख्नुकाे वैज्ञानिक कारण के हाे ?

काठमाडाैं ।  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ। बडादशैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

 गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँघरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक आज जमरा राखिन्छ। जमरा अर्थात् जौ जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । घटस्थापनाको दिनदेखि जमरा छरिएको ठाउँमा नवरात्रिभरि नै हरेक दिन देवीको पूजा–अर्चना गरिन्छ ।

घटस्थापना नितान्त हाम्रो संस्कृतिसँग मात्र जोडिएको छैन यो वैज्ञानिकतासँग पनि जोडिएको छ। वेद विद्याश्रमका अध्यापक आचार्य कृष्ण प्रसाद भण्डारी भन्छन्, ”वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व त्यत्तिकै रहेको छ । आयुर्वेदिक ग्रन्थमा जौबाट गर्न सकिने उपचारको उल्लेख गरिएको छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएको विषय सर्वविदितै छ ।”

वैदिक सनातन संस्कृति अनुसार जौमा अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको षोडशोपचारले पूजाआजा गरिन्छ । माता भगवतीलाई पनि मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारम्भ भएको हो । यस दिन शैलपुत्री स्वरूपा दुर्गा भवानीको पूजा आराधना गरिन्छ। पर्वतराज हिमालयकी पुत्रीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रीय मान्यता रहेको ब्याकरणचार्य नारायण धिताल बताउँछन् । उनका अनुसार शैलपुत्रीको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। ”यस दिन दुई वर्षकी कन्यालाई कुमारीदेवीको नामले पूजा गर्ने परम्परा छ ।” उनले भने ।

माटो, पानी, हावा, फूल, आँकुरासँगै जुटेको यो संस्कारले वनस्पतिसँग हामी अत्यन्तै नजिक छौँ भन्ने कुरा स्पष्ट पार्छ । आचार्य भन्छन्,”चाड केवल मनाउने मात्र होइन यसले हामी प्रकृतिसँग कति नजिक छौँ र माटोसँगको हाम्रो नाता कति प्रगाढ छ भन्ने कुराको प्रत्यक्ष प्रमाण हो, किनकि जौ माटो नभई उम्रन सक्दैन र मानव सभ्यताको अस्तित्व पनि माटो नै हो । संसारमा माटो भएन भने अन्नको सृष्टि हुँदैन त्यसैले हामी माटोसँग प्रत्यक्ष जोडिएका छौँ र दसैँमा पनि माटोमा जमरा राखेर उमार्ने प्रचलन रही आएको हो ।”

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।आजैदेखि दसैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने चलन रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया