पाँच घण्टाकाे फरकमा चार जना काेराेना संक्रमितकाे मृत्यु

नेपालगञ्ज । भेरी अस्पताल नेपालगन्जमा थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ३ र दाङका एक जना रहेका छन् । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया, राजापुर नगरपालिका वडा नम्बर ८ का ३५ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राती ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बर्दियामा यही असोज ४ गते उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए ।

यस्तै राजापुर नगरपालिका वडा नम्बर ४ बर्दियाकी ५२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । बर्दियामा यही असोज ८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि असोज १० गते उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार बेलुकी ७ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी बारबर्दिया नगरपालिका वडा नम्बर ११ बर्दियाकी ४२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यही असोज १९ गते उनलाई भेरी अस्पतालमा कोरोना पुष्टी भएपछि सोही दिन भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएको दुई दिनमै उनको मृत्यु भएको हो । अस्पतालका अनुसार उनको बिहीबार दिउँसो ३ः३० बजेतिर मृत्यु भएको हो ।

त्यस्तै दंगिशरण गाउँपालिका वडा नम्बर १ दाङकी ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही असोज १३ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि सोही दिन भर्ना भएकी थिइन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाबाट आएका ४ सय २३ जनाको मृत्यु भइसकेको फोकल पर्सन ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया