बालिका मृत्यु घटना : आफन्तद्वारा प्रदेश अस्पतालमा आन्दोलन

सुर्खेत । नाकमा मकैको दाना अड्केकी बालिकाको मृत्यु भएपछि आफन्तहरुले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन् । नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवालको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेका हुन् ।


चार दिन अघि नाकमा मकैको दाना अड्केकी बालिकाको दैलेख अस्पतालहुँदै सुर्खेत ल्याइएको थियो । उनको उपचारकै क्रममा गएराती मृत्यु भएपछि आफन्तहरुले डाक्टरहरुको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा आन्दोलन गरेका छन् ।

‘दैलेखका डाक्टरहरुले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीलाई डाक्टरहरुकै लापरवाहीले मृत्यु भएको हो ।’ लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन् ।

यता, प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृत्यु नभएको बताए । ‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्न अप्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अप्रेशनका क्रममा एक्काशी बालिकामा श्वासप्रश्वासमा समस्या देखियाे र विस्तारै अक्सिजन लेभल घट्दै गएपछि उनलाई बचाउन सकेनौं ।’

घटनाप्रति अस्पताल परिवार दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षती पु¥याउनु राम्रो पक्ष नभएको बताए । ‘घटना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं,’ खड्काले भने, ‘आफन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेकाले समस्या सिर्जना भएको छ ।’

तपाईको प्रतिक्रिया