कर्णालीका ६ जिल्लाकाे बाेझ भेषबहादुर थापाकाे काँधमा

सुर्खेत । कर्णालीका सुर्खेत, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट र रुकुमपश्चिम जिल्लामा खाद्य वस्तुको गुणस्तर मापन र त्यसको नमुना जाँच गर्ने जिम्मा पाएको कार्यालयमा एक जना कर्मचारीले करिब एक दशकदेखि काम गर्दै आएका छन् । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतमा पर्याप्त कर्मचारीको व्यवस्था नहुँदा एक जना कर्मचारीकाे काँधमा ६ जिल्लाको अनुगमन गर्नुपर्ने बाध्यता आइलागेको हो ।

६ जिल्लाकाे काम एक्लै गर्दै आएका खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा ।

कार्यालयका प्रमुख भेषबहादुर थापालाई खाद्य तथा बजार अनुगमन गर्न यतिबेला भ्याइनभ्याइ छ । चाडपर्वको मुखमा र त्यसअघि हुने नियमित अनुगमनमा उनलाई समय मिलाउनुपर्ने बाध्यता छ । सो डिभिजन कार्यालयमा ६ जना कर्मचारीकाे दरबन्दी भएपनि विगत तीन वर्षदेखि एक्लै कामकाज गर्दै आएको प्रमुख थापाले बताए ।

कार्यालयमा प्राविधिक सहायक चार जना, कार्यालय प्रमुख र कार्यालय सहयोगीको दरबन्दी छ । थापाले जनशक्ति अभावका कारण ६ वटा जिल्लाको काम जेनतेन एक्लैले गर्दै आएको बताए । उनले काम विशेषले कार्यालय बाहिर जानुपर्दा जिम्मेवारी सम्हाल्ने अर्को कर्मचारी नहुँदा समस्या हुने गरेकाे उल्लेख गरे ।

केही दिनअघि तीन जना कर्मचारी आएपछि भने अब काम गर्न सहज हुने अपेक्षा उनको छ । कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्य क्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीबिना एक्लैले काम गर्नु परेकाले निकै गाह्रो भएको दुःखेसो उनको छ । खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्य वस्तुको लेबल तथा तिनको गुणस्तरको नमुना लिएर जाँच गर्नुपर्ने भएतापनि खाद्य पदार्थको गुणस्तर जाँच्नका लागि कर्मचारी र ल्याबको समस्या भएको उनको गुनासो छ ।

यसैबीच सुर्खेतमा उक्त कार्यालयको प्रदेशस्तरीय कार्यालय स्थापना हुँदैछ । २२ जनाको दरबन्दीसहित प्रयोगशाला निर्माण हुने तयारीमा रहेको जानकारी प्रमुख थापाले दिए । प्रमुख थापाका अनुसार गतवर्ष कार्यालयले १० वटा मुद्दा दायर गरेकाे थियो । पाँचवटा अदालत र पाँचवटा जिल्ला प्रशासनमा मुद्दा दायर गरिएको थियो । पछिल्लो समय अनुमति नलिने , नवीकरण गर्ने जस्ता काम भइरहेको भन्दै उनीहरूलाई सुरुमा सचेत गराउने र पछि अटेर गरेमा कारबाहीसमेत गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया