क्षतीपूर्ति र कारवाहीको माग राख्दै दैलेख सडक अवरुद्ध

सुर्खेत । सुर्खेत–दैलेख सडक खण्डको लादेमा भएको मिनि बस (एसएमएल) दुर्घटनामा मृत्यु भएका परिवारले सडक अवरुद्ध गरेका छन् । उचित क्षतीपूर्ति र चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै दैलेख सडक खण्डको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा आफन्तहरुले सडक अवरुद्ध गरेका हुन् ।


सडक अवरुद्धहुँदा सुर्खेतबाट दैलेख जाने सवारीहरु ठप्प भएका छन् । दुर्घटनापछि चालक लुकाइएको र साहुलाई गाडी चलाउन दिएकाले उनलाई पक्राउ गर्नुपर्ने माग आफूहरुको भएको दुर्घटनामा मृत्यु भएकी शान्ता थापा आचार्यका भाई सन्दीपकुमार रेग्मीले नेपालीरैबारलाई जानकारी दिए । ‘स्थानीय प्रशासनले चालक र गाडी सहुलाई लकाएपछि आन्दोलन गर्नु परेको हो,’ रेग्मीले भने, ‘स्थानीय प्रशासनबाट कुनै सहयोगको वातावरण पाउन सकेनौं दुवै जनालाई पक्राउ नगर्दासम्म आन्दोलन जारी राख्नेछौं ।’

उनकाअनुसार गाडी साहु दैलेख नारायण नगरपालिका–११ का दिलबहादुर बडुवालको नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता गर्न लागिएको छ । ‘उजूरी लिएर प्रहरी कार्यालय जाँदैछौं, प्रहरीले दर्ता गरेमा सडक सुचारु गर्छौं,’ रेग्मीले भने, ‘प्रहरीबाट पनि सहयोग पाइएन भने थप आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।’

पीडित परिवारले क्षतीपूर्ती दिनुपर्ने, बालकालिकाको हेरचाह लगायत गर्नुपर्ने माग राखेका छन् । तर क्षतीपूर्ती कति माग गरिएको हो भन्ने बारे आफन्तहरुले खुलाएका छैनन् । गत असोज ३१ गते दैलेखको वेस्तडाबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको मीनिबस लादेमा दुर्घटना भएको थियो । दुर्घटनामा नारायण नगरपालिका–११ सुशील रावत र भगवतीमाई गाउँपालिका–१ की ३४ वर्षीय शान्ता थापा आचार्यको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया