एक वर्षमै अब हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जाेडिने

हुम्ला । एक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सरकारी लक्ष्य पूरा हुने भएको छ । कर्णाली करिडाेरकाे हुम्ला सडकखण्डमा पर्ने कर्णाली नदीमा यसै आर्थिक वर्षमा सम्पन्न गर्ने तयारीका साथ तीनवटा पक्की पुल निर्माण यसै आर्थिक वर्षभित्र निर्माण हुने भएपछि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको हो

आयोजनाको लक्ष्य पुस महिनाभित्र हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकोे छ । सडक निर्माण कार्य भइरहेको भए पनि कर्णालीमा पक्की पुल नबन्दा सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कार्य अनिश्चित नै थियो । नदीमा पक्की पुल बन्ने कार्य सुरु भएपछि अब भने सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिने निश्चित भएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए । उनले सडक सञ्जाल विकासको मेरुदण्ड भएको बताउँदै पुल निर्माण कार्य अगाडि बढेकोमा खुसी व्यक्त गरे ।

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी तीनवटा पक्की पुलको निर्माण कार्य अगाडि बढेको बताए । कर्णाली करिडाेरअन्तर्गतको खार्पुनाथ गाउँपालिकाको खार्पुमा, दोजाम कर्णालीको छारेमा र सर्केगार्ड गाउँपालिकाको लेप्चेमा ती पुल निर्माण हुने योजना प्रमुख लामाले उल्लेख गरे । सबै प्रक्रिया अगाडि बढेको बताउँदै टेन्डर आह्वान गरी निर्माण कम्पनी छनोट गर्ने कार्य पूरा भएको र अब सम्झौता कार्य अगाडि बढ्ने उनले बताए ।

कर्णाली नदीमा पानीको बहाव घट्ने क्रम सुरु भएकाले सम्झौतालगत्तै निर्माण कार्य सुरु हुने प्रमुख लामाले जानकारी दिए । खार्पुमा बन्ने पुलका लागि १४ कराेड र छारे तथा ल्याप्चेको बेलिब्रिज निर्माणका लागि चार-चार कराेड रुपियाँमा टेन्डर स्वीकृत भएको छ । खार्पुसम्म सडक निर्माण सम्पन्न भएको छ । छारेमा निर्माण कार्य धमाधम भइरहेको छ भने ल्याप्चेतर्फ‚ याल्तडीबाट सडक निर्माण भइरहेको छ । निर्माण सामग्री ढुवानी गर्न दक्षिणी हुम्ला सडक सञ्जालमा जोडिएका कारण सहज भएको छ ।

हुम्ला सडकखण्डको कबाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाको विकास निर्माण दलले निर्माण कार्य सम्पन्न गरेर आयोजनालाई बुझाइसकेको छ । सलीसल्लादेखि सदरमुकाम सिमकोटसम्मको ४९ किलोमिटर सडकको निर्माण कार्य पनि सडक आयोजनाले गर्दै आएको आयोजना प्रमुख लामाले बताए । अब पाँच किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको र त्यो पनि निर्माण भइरहेको उनले बताए । कर्णाली र दोजाम कर्णालीमा तीनवटा पुल निर्माण सम्पन्न भएपछि हुम्ला सदरमुकाम सिमकोटसम्म यातायातका साधन सञ्चालन गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया