बाढी पहिरोसँगै बढ्यो रोगको जोखिम

काठमाडौं। मनसुन सकिएपछि देशभर ३१ असोजदेखि परेको वर्षाले अन्नबाली, सडक, पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढी बस्तीमा पस्दा जनजीवन प्रभावित भएको छ। गृह मन्त्रालयले बुधबार बिहान जारी गरेको विज्ञप्तिअनुसार तीन दिनयता परेको भारी वर्षाका कारण १९ जिल्ला नराम्रोसँग प्रभावित भएका छन्।

वर्षेनी मनसुनको समयमा बाढी पहिरोको प्रकोपबाट ठूलो क्षति हुँदै आएकोमा नेपालले बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको धेरै पटक सामना गर्नु परेको छ।

तीनदिनयता परेको अविरल वर्षाका कारण बाढीका साथै धेरै जिल्लाहरु डुबानमा पनि परे। विपद्मा परेका सबैजना सुरक्षित ठाउँ खोज्दै गए। यस्तो अवस्थामा नत कतै स्वच्छ पिउने पानी नै देखिन्छ, न त स्वास्थ्यका मापदण्डहरु नै पालना भयो। जसले गर्दा पानीजन्य रोगहरु लाग्नुका साथै कोभिड पनि फैलन सक्ने जोखिम देखिन्छ।

यसरी बाढी पहिरोका कारण पानीजन्य र सरुवा रोगहरु धेरै फैलन सक्ने भन्दै सर्तक रहन स्वास्थ्य विज्ञहरुले आग्रह गरेका छन्। वर्षातले सरुवा रोगहरु अत्यधिक मात्रामा बढाउने भएकाले अब अस्पतालहरुमा बिरामीको चाप पनि बढ्न सक्ने विज्ञहरुले आंकलन गरेका छन्।

यसअघि चिकित्सा शिक्षा सुधार अभियान्ता डा.गोविन्द केसीले बाढी प्रभावित क्षेत्रहरुमा बसोबास गर्ने मानिसहरु पानीजन्य रोगबाट बिरामी हुन सक्ने भन्दै विभिन्न जिल्लाहरुमा पुगेर उपचार सेवा दिएका थिए।

पानीजन्य रोगहरु
कपिलवस्तु जिल्लाको कृष्णनगरमा १८ असोजदेखि फैलिएको झाडापखालाका कारण चार जनाको मृत्युसमेत भइसकेको छ। एक सयभन्दा बढी बिरामी परेका छन्।

झाडापखालाका बिरामीको दिसामा भिब्रियो कलेरा भेटिएपछि विज्ञहरूले हैजाको आशंकासमेत गरेका थिए। यो झाडापखाला फैलिनुको पछाडि दुषित पानी हो भनेर स्वास्थ्य मन्त्रालयले बताएको थियो।

दुषित पानीका कारण हैजा, झाडापखालाका, फ्लू , टाइफाइट, भाइरल हेपाटाइटिस र वर्षातका समयमा पशुको दिसापिसाबबाट सर्ने रोगहरु पनि फैलिन सक्ने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।

डा.पुनका अनुसार बाढी पहिरोका कारण पानी अत्यधिक दुषित हुने गर्छ। नेपालको पुरानो सिनारियोलाई आधार मानेर हेर्ने हो भने पानीजन्य रोगहरु नै बढी फैलिएको छ।

बाढी पहिरोका कराण विस्थापित बनेका व्यक्तिहरुलाई पानीजन्य रोगमात्र नभएर हावाबाट सर्न सक्ने रोगहरु पनि सजिलै लाग्न सक्ने उनले जानकारी दिए।

सरकारको तयारी के ?
बाढी प्रभावित क्षेत्रमा रहेकाहरुलाई राहत वितरण मात्र नगरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे पनि विशेष ख्याल राख्नु पर्ने सरकारवालहरु बताउँछन्।

तर यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कुष्णप्रसाद पौडेल भन्छन्, ‘‘अहिले त स्वास्थ्य मन्त्रालयले जनचेतना नै जगाउने काम गरेको छ। बाढी पहिरो गएका जिल्लाहरुमा पिउने पानीका मुहानहरुमा फोहोर पानी आउँन सक्छ, त्यो पानी पिउदा जन्डिस, हैजा, आउँ टाइफाइट जस्ता रोगहरु बढ्न सक्छन्। त्यसैले सफा पानी पिउने, खाने कुराहरु पनि सफा गरेर खाने भनेर नै जनचेतना दिइरहेका छौं।”

‘‘भोलिका दिनहरुमा कतै स्वास्थ्य समस्या देखियो भने त्यहाँ औषधि उपचारको व्यवस्था गर्ने हो”, उनले भने। बाढी पहिराले गर्दा स्वास्थ्य समस्या निम्तन सक्ने भएकाले सबैलाई सरसफाइमा ध्यान दिन आग्रह गरिएको उनको भनाइ छ।

डा.पौडेल भन्छन्, ‘‘ विस्थापित परिवारहरुले पानी उमालेर खान सक्ने अवस्थामा नभए पनि पानीमा पियूस र क्लोरिन मिसाएर खुवाउनका लागि खानेपानी संस्थानहरुलाई भनिरहेका छौं।”

यसरी मन्त्रालयले विपद्मा परेकाहरुलाई जनचेतना मुलक सन्देशमात्र दिएर नपुग्ने डा.पुन बताउँछन्। यसरी विपद्मा परेकाहरुले आफन्त घरबार सबै गुमाएर आफ्नो ज्यान बचाउँदै अन्यत्र बसिरहेको समयमा सहयोग नगरी जनचेतनामात्र दिनु गैरजिम्मेवारीपूर्ण रहेको उनले तर्क गरे।

पुन भन्छन्, ‘‘जनचेतना पनि चाहिन्छ, नचाहिने होइन। तर यसरी विस्थापित बनेकाहरुलाई व्यवहारिकरुपमा निकै गाह्रो हुन्छ। उनLहरु दोस्रोचरण पुगे अर्थात गाँस र बासको राम्रो व्यवस्था भइसकेपछि मात्र जनचेतना मुलक कार्यक्रम अगाडि बढाउन राम्रो होला।”

‘‘बाढी पहिरो गएका ठाउँमा जो सहयोगी हात बढाएर अघि गएका छन्, उनीहरुले नै विस्थापित परिवारको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ”, उनले भने, ”त्यसपछि भने जनचेतनाका कार्यहरु प्रभावकारी हुन्छ।”

केहL वर्ष अगाडि बर्दिबासमा बाढी पहिरो जाँदा स्वास्थ सेवा विभागको टोली नै त्यहाँ पुगेको थियो। त्यसमा डा.पुन पनि सहभागी थिए।

डा.पुन भन्छन्, ‘‘बर्दिबासको बाढी पहिरोमा परेका सबैलाई झाडापखला, ज्वरो जस्ता रोगहरु बढी देखिएला भन्ने थियो। तर त्यहाँ कसैले सोच्दै नसोचेको छालासम्बन्धी समस्या लिएर आउने मानिस धेरै देखिए। ९० प्रशितशतभन्दा बढीमा छालाको समस्या र गर्भवति महिलाहरुले भने पोषणको खाने कुराहरु मागेको देखियो।”

बाढी पहिरो जाँदा पानीजन्य रोगहरु लाग्नुका साथै नसोचिएका रोगहरु पनि देखिन सक्ने पुनले बताए। सरसफाइमा ध्यान दिन सके संक्रामक रोगबाट बच्न सकिने उनले जानकारी दिए।

‘‘यसरी स्वास्थ्य समस्या बढ्दै जाने भएकाले व्यक्तिगत र सामुहिक सरसफाइमा विशेष ख्याल दिनुका साथै खानपानमा पनि उत्तिकै सचेत हुनु पर्छ” उनले भने।

तपाईको प्रतिक्रिया