बाढी, पहिरो र डुबानमा परी १ सय १ जनाको मृत्यु ,४१ जना अझै बेपत्ता

काठमाण्डौँ । सोमबारदेखि अविरल रुपमा परेको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ।

उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन्। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया