जाजरकोट र डोल्पामा पहिरो जाँदा यातायात सेवा अवरुद्ध नुन तेलको अभाव हुन थाल्यो

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र डोल्पामा पर्ने खदाङ्गबीचमा करपगाड पर्ने दुई स्थानमा गएको सुक्खा पहिरोले गर्दा यातायात सेवा ठप्प भएको हाे ।

करिब एक सय मिटरमाथिबाट खसेको पहिरोका कारण डोल्पा जाने र जाजरकोट आउने सवारीसाधनहरू ठप्प भएका छन् । मंगलबारदेखि रुकुमपश्चिको अनाहदेखि छुटेका मालबहाक ट्याकटर, साना ट्रकहरू सडकको दुई किनारामा रोकिएका छन् । पहिरोका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारीहरूले बताएका छन् ।

मुल ठाउँमै पहिरो खसेकाले नुन, तेल,चामल लगायतका सामग्रीहरू भित्रयाउन नसकिएको स्थानीय ब्यापारी खीमबहादुर सिँहले जानकारी दिनु भयाे । बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको बताउँदै सडक खुलाउनेबारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताउनु भयाे । यता सडक डिभिजन प्रमुख ध्रुव झाले भने आफूलाई यस विषयमा जानकारी नै नआएको बताउनु भयाे ।

तपाईको प्रतिक्रिया