वेमौसमी वर्षातले सुर्खेतमा ३६ करोडको धान नोक्सान

सुर्खेत । अप्रत्याशीत र सोच्दै नसोचेको वेमौसी वर्षातले सुर्खेतमा ३६ करोड बढीको धानवालीमा क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संकलन गरेको प्रारम्भीक तथ्याङ्कअनुसार सुर्खेतमा चार दिन परेको वेमौसमी वर्षातबाट ३६ करोड २८ लाख १६ हजार बराबरको धानबालीमा क्षती पुगेको हो ।


वर्षभरी खानका लगाइएको धान खेती चार दिनमै सखाप पारेपछि सुर्खेतका कृषकहरु चिन्तित छन् । जिल्लामा गरिएको खेतीमध्य एक हजार ३७ जनाले लगाएको तीन हजार ९९ विगाह पाँच कठ्ठाको धानमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार एक लाख ८५ हजार दुईसय उनासी बोरा काटेको धान नष्ट भएको छ । कृषकले काटेको धान वर्षातले वारीमा उम्रिएको र काट्न तयारी अवस्थामा रहेको धान ढल्दा कुहिएको प्रहरी तथ्याङ्कमा समावेश छ । ‘प्रहरीको जिल्लाभर रहेको युनिटले संकलन गरेको तथ्याङ्क संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा विवरण पठाएका छौं,’ प्रवक्ता घर्तीले भने, ‘वर्षातले सबैभन्दा धेरै क्षती मालारानी, लाटीकोईली, सुब्बाकुना क्षेत्रमा पुगेको छ ।’

वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा ३२५ विगाह जमिनमा ६८० जना कृषकले लगाएको धान खेती क्षती पुगेको छ । यो क्षेत्रमा तीन करोड १२ लाख वराबर अर्थात् एक लाख ९५ वोरा धान नष्ट भएको छ । यस्तै, लाटीकोइली क्षेत्रमा ३१६ कृषकले एक हजार १६ विगाह जमिनमा गरिएको धानमा क्षती पुगेको छ । पूर्वी सुर्खेतको मालारानी क्षेत्रका २११ जना कृषकले एक हजार ६६६ विगाहमा लगाएको ९९ हजार ९९० वोरा धान वर्षातले क्षती पुगेको छ । यहाँ झण्डै एक करोड १९ लाख ९८ हजार मूल्य बराबरको क्षती भएको छ । जिल्लाको छिन्चु, बावियाचौर, लेकवेशी, राकम, बाँगेशीमल क्षेत्रमा पनि धान खेती नष्ट भएको छ ।

यकिन तथ्याङ्क संकलन गर्दै नगरपालिका
कर्णाली प्रदेश राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले नगर भित्रका कृषकहरुले लगाएको धानवालीको यकिन तथ्याङ्क संकलन गरिहरेको छ । पाँच दिनभित्र कृषकको धानवालीमा पुगेको क्षतीको यकिन तथ्याङ्क संकलन गर्नेगरी छिटाे काम गर्न नगर प्रमुख देवकुमार सुवेदीले वडाध्यक्षहरुलाई निर्देशन दिएका छन् । नगरपालिकाले आज राखेको विपद् सम्बन्धी बैठकमा यकिन विवरण संकलन गर्ने र आवश्यक राहतका लागि संघ तथा प्रदेशसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया